छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण शिविर सुरु

जोमसोम ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ईलाका संरक्षण कार्यालय लोमान्थाङको आयोजनामा बुधबारबाट छाडा कुुकुर नियन्त्रणका लागि कुुकुर बन्ध्याकरण शिविर संञ्चालन गरिएको छ । जिल्लाको पाँचवटै स्थानीय तहमा छाडा कुकुर नियन्त्रण गर्ने अभियान अन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङबाट यसप्रकारको कुकुर बन्ध्याकरण शिविर संञ्चालन गरिएको हो ।

 एक्याप लोमान्थाङले लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका विभिन्न स्थानमा कुकुर बन्ध्याकरण शिविर चलाउने गरी लोमान्थाङबाट अभियान संञ्चालन गरिएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । 

यसैगरी वारागुङ मुक्तिक्षेत्र,घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकामा एक्याप जोमसोमले छाडा कुुकुर नियन्त्रणका लागि बन्ध्याकरण शिविर चलाउने योजना रहेको छ । कार्यालय प्रमुख पौडेलले गतवर्ष छाडा कुकुर नियन्त्रण गर्न छुटेका र नयाँ थपिएका छाडा कुकुर नियन्त्रण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउँनुभयो ।

 मुस्ताङमा विदेशी पर्यटकको पछिपछि लागेर अन्य जिल्लामा छाडा कुकुर भित्रिने गर्दा छाडा कुकुर नियन्त्रण गर्नमा चुनौति थपिएको हो । छाडा कुकुरले घरपालुवा जनावर बालीनालीमा क्षति र मानिसलाई समेत आक्रमण गरी घाईते बनाउने भएकाले छाडा कुकुर नियन्त्रण गर्न आवश्यक रहेको हो ।


प्रतिक्रिया