मुक्तिनाथका दुई स्थानमा पदमार्ग निर्माण

जोमसोम—  मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको जनाईएको छ । मुक्तिनाथ दर्शन गर्न जाने तिर्थालु भक्तजनको सहजताका लागि मुक्तिनाथधामको पुराङ रानीपौवा बजारक्षेत्र र मुक्तिनाथ प्रवेशद्वारदेखि ज्वालामाई गुम्बा जाने बाटोमा डिभिजन सडक कार्यालय बाग्लुङ मार्फत पदमार्ग निर्माणको ठेक्का सम्झौता भएको हो ।

डिभिजन सडकले चालु आर्थिक वर्ष २०८१÷०८२ अन्तर्गत सालबसाली ठेक्का अन्तर्गत मुक्तिनाथधामको दुई स्थानमा अलग÷अलग पदमार्गको ठेक्का सम्झौता भई निर्माणकार्य अन्तिम चरणमा पुगेको डिभिजन सडक कार्यालय बाग्लुङका ईन्जिनीयर सागर भण्डारीले जानकारी दिनुभयो । यसकार्यका लागि मुक्तिनाथ रानीपौवा बजारमा एक करोड र मुक्तिनाथ ज्वालामाई गुम्बा जाने पदमार्गमा एक करोड बजेट विनियोजन भएको उल्लेख गर्नुभयो ।

चालु आर्थिक वर्षको असार भित्रै सम्पन्न गर्ने गरी मुक्तिनाथ रानीपौवा बजार क्षेत्रमा नाली तथा फुटपाथ निर्माण गरेर छप्पनी ढुंगा बिच्छ्याउने गरी पदमार्ग निर्माण गर्न दुईभाई निर्माण सेवा काठमान्डौंले ठेक्का सम्झौता गरेको थियो । मुक्तिनाथ बसपार्क नजिकैबाट मुक्तिनाथ जाने रानीपौवा बजार क्षेत्रमा  दुई सय मिटर दुरीमा छप्पनी ढुंगा बिच्छ्याउने कार्य भईरहेको ईन्जिनीयर भण्डारीले उल्लेख गर्नुभयो । 

भक्तजनको सहजता र रानीपौवा बजारको सौन्र्दयीकरणका लागि नाली र फुटपाथसहित ८ मिटर चौडा पदमार्ग निर्माणकार्य भईरहेको ईन्जिनीयर भण्डारीले खुलाउनुभयो । रानीपौवा बजार क्षेत्रमा ४ मिटर चौडामा छप्पनी ढुंगा बिच्छ्याएर पदमार्ग स्तरोन्नति गरिने बताउँनुभयो । रानीपौवामा छप्पनी ढुंगा बिच्छ्याएर पदमार्ग निर्माणकार्यको पछिल्लो भौतिक प्रगती ४५ प्रतिशत पुगेको उहाँले जनाउँनुभयो ।

 यसैगरी मुक्तिनाथधामको मुख्य प्रबेशद्वारदेखि ज्वालामाईसम्म रेलिङसहितको सिढी बाटो निर्माणको जिम्मा पि.के. कन्ट्रक्सनले लिएको डिभिजन सडक कार्यालय बाग्लुङले जनाएको छ । त्यहाँ तीन सय ५० मिटर दुरीमा दुई दशमलव एक मिटर चौडा पदमार्ग निर्माण गरिन लागिएको हो । ज्वालामाई रेलिङ सिंढी बाटोको पछिल्लो भौतिक प्रगती ८० प्रतिशत पुगेको डिभिजन सडक कार्यालय बाग्लुङका ईन्जिनीयर भण्डारीले जानकारी दिनुभयो ।


प्रतिक्रिया