साङ्तामा प्रहरी र प्रशासनको टोलीले बिहिबार जनचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।
जोमसोम—गएको स्थानीय तह र प्रदेश तथा संघीय निर्वाचनपछि मुस्ताङ र डोल्पाको सिमाना पर्ने साङ्ता गाउँमा सरकारले उपस्थिती जनाएको छ । भौगोलिक रुपले अत्यन्तै विकट स्थानमा रहेको साङ्ता गाउँमा सरकार पुगेपछि स्थानीय उत्साहित भए ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—५ अन्तर्र्गत पर्ने साङ्ता गाउँमा १३ घरधुरीको बसोबास छ । गएको स्थानीय तह र संघ÷प्रदेशको निर्वाचनमा त्यहाँ ३४ जना मतदाता थिए । भिरालो सतहमा अवस्थित साङ्ता गाउँका स्थानीयको मुख्य आम्दानीको श्रोत पशुपालन र सामान्य खेती किसाननै हो । गाउँमा एक आधारभुत विद्यालय भएपनि त्यहाँ पर्याप्त बिद्यार्थी छैनन । त्यहाँ भएका बालबालिका पनि कतिपय गुम्बा स्कुल र कतिपयलाई डोनरले पढाईदिने भएकाले बिद्यालय चलाउन समेत गाह्रो पर्छ ।
साङ्ता गाउँ जोमसोमदेखि करिव ४० किमी टाढा छ । वारागुङ मुक्तिक्षेत्रको पाक्लिङ र फल्याक हुँदै समून्द्री सतहको ४५ सय मिटर माथिको उचाईबाट बिस्तार भएको कच्ची सडक छिचोल्दै साङ्ता पुगिन्छ । उपल्लो डोल्पाका बासिन्दाहरु मुस्ताङको जोमसोम आएर मालसामान किनेर लैजान साङ्ता गाउँको बाटो तय गर्नुपर्छ । अभावै अभावले झेलिएको साङ्ता गाउँमा ३ वटै तहको सरकार उपस्थिती समेत एकदमै कम हुन्छ । चुनावको बेला सडक,बिद्युत,संञ्चार,सिचाई,स्वास्थ्य ,शिक्षा र अन्य पूर्वाधार व्यवस्थापन गरिदिने नेताका आश्वासन र भाषणले समेत साङ्ता गाउँको मुहार अझै फेरिएको छैन ।
बर्खायाममा ६ महिना गावैमा र ६ महिना नजिकैको घोक भन्ने पाखोमा अस्थायी बसोबास गर्ने साङ्ता गाउँका स्थानीयहरु पछिल्लो समय फल्याक, पाक्लिङ र जोमसोम आएर ज्याला मजदुरी गरी जाडो छल्छन् । वारागुङको एउँटै वडामा पर्ने फल्याक र धाकाजुङमा विस्तारै आधारभुत आवश्यकताको विकास भईरहँदा साङ्ता गाउँमा अझै विकास मुहान देखिदैन । गाउँमा कुनै दुःख बिमार भयो भने नत एम्बुलेन्स पाईन्छ, नत कुनै सार्वजनिक सवारीनै । विपद् पर्दा आईपर्ने घटनामा सम्वन्धित निकायलाई फोन गर्न समेत भरपर्दो संञ्चार सुविधा छैन । गाउँमा एक दुई घरधुरीले राखेको सिडिएम फोन पनि राम्ररी चल्न सक्तैन ।
स्थानीय सरकार पनि आकुल झुकल विषेश काम पर्दा मात्र झुल्किने साङ्ता गाउँमा उनीहरुको नागरिक अभिमतको कुनै कदर हुन नसकेको महशुस उनीहरुले गरेका छन् । सायद गएको निर्वाचनपछि यता त्यहा कुनै पनि सरकारले उपस्थिती देखाएका छैनन् । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत सडक डिभिजन कार्यालय बाग्लुङले मुस्ताङ डोल्पा सडक विस्तार गर्दै गरेको भएपनि सडक अवस्था अझै कमजोर छ । सदरमुकाम जोमसोमदेखि नजिकै पर्ने भएपनि साङ्ता गाउँ गुमनाम छ ।
यही गुमनाम बस्ती साङ्ता गाउँमा चुनावपछिको लामो अन्तरालमा सरकारले प्रत्यक्ष उपस्थिती देखाएको छ । स्थानीय सरकारले आफुलाई पायक पर्ने, सुगम र पहुँच पुग्ने स्थानमा मात्र ध्यान दिने गर्दा त्यहाँ स्थानीय तहको वडा प्रतिनिधि बाहेक अरु पुग्दैनन् ।
बिहिबार जिल्ला समन्वय समिति मुस्ताङकी अध्यक्ष माया गुरुङ,प्रमुख जिल्ला अधिकारी जनकराज पन्त,प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेय र वडाध्यक्ष सुरेन्द्र गुरुङसहितको एक टोली साङ्ता गाउँ पुग्यो । जिल्ला प्रहरी कार्यालय मुस्ताङ र प्रशासन कार्यालय मुस्ताङको आयोजनामा त्यहा ‘सामाजिक कुरुती र अपराध न्यूनिकरण’सम्वन्धि कार्यक्रम गरिएको बताईएको छ । घरदैलोमै सरकारको उपस्थितीले स्थानीयबासी खुसी भएको वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए । साङ्तामा प्रहरी र प्रशासनको टोलीले बिहिबार जनचेतनामूलक कार्यक्रम आयोजना गरेको वडाध्यक्ष गुरुङले उल्लेख गरे ।जिसस प्रमुख माया गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता वडाध्यक्ष सुरेन्द्र गुरुङले गरेका थिए ।
साङ्ता गाउँका २० जना नागरिकको सहभागीतामा आयोजना गरिएको कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त र प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले त्यहाँका स्थानीय नागरिकलाई कुरुती र अपराध लगायतका बिषयमा जानकारी दिएका थिए । मुस्ताङका प्रहरी नायव उपरीक्षक पाण्डेयले साङ्ता गाउँमा नागरिक सचेतनाको कार्यक्रम लिएर पुग्दा स्थानीय उत्साहित भएको बताए ।
२४ जेठ २०८१, शुक्रबार ०८:५५ मा प्रकाशित
595
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली