मुस्ताङमा सिजनकै पहिलो हिमपात

मुस्ताङ, ११, कार्तिक । 

मुस्ताङमा यो सिजनकै पहिलो हिमपात भएको छ । उपल्लो मुस्ताङको कोरलानाका ,लोमान्थाङ गाउँपालिकासहित मुक्तिनाथ क्षेत्रमा मंगलबार बिहानदेखि भारी हिमपात भईरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ—२ छोसर ,कोरलानाका र मुक्तिनाथ क्षेत्रमा भारी मात्रामा हिमपात भईरहेको जानकारी दिनुभयो ।  यसैगरी उपल्लो मुस्ताङ र तल्लो मुस्ताङका उच्चलेंकहरुमा वर्षासहित हिमपात भएको प्रमुख जिल्ला अधिकारी भुसालको भनाई छ ।

यसैगरी मुक्तिनाथ क्षेत्रमा बाक्लो हिउँ परेको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिनुभयो । मुक्तिनाथमा बिहानैबाट निरन्तर हिउँ परिरहेकाले मन्दिरमा पुग्ने दर्शनार्थीहरुलाई समस्या परेको बताउँनुभयो ।‘ मुक्तिनाथ क्षेत्रमा बाक्लो हिउँ पर्ने क्रम जारी छ, हिउँ ५÷६ ईञ्च जति जमेको अवस्था छ ,’ कर्मचारी सुवेदीले भन्नुभयो,‘ जमिन तातो भएकाले जम्न सकेको छैन, यही रफ्तारमा हिउँ पर्ने क्रम केही भएमा दुई फिटसम्म हिउँ जम्म ।’

 लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टका अनसार लोघेकर दामोदरकुण्डको उच्चलेंकमा हिमपात भईरहेको र वस्ती नजिक वर्षासंगै आशिंक हिमपात भएको बताउँनुभयो । ‘यो वर्ष कार्तिकमै हिउँ प¥यो, यहाँ दुई तिनवर्षसम्म हिउँ पर्न सकिरहेको थिएन,’ अध्यक्ष बिष्टले भन्नुभयो,‘ हिउँ पर्नु किसानका लागि निकै राम्रो पक्ष हो, यसले कृषकको अन्नबाली उत्पादनमा महत्वपूर्ण टेवा पु¥याउँदछ ।

यसैगरी वारागुङ मुक्तिक्षेत्रको खिङ्गा ,झोङ, छेङ्गुर, फल्याक, लगायतका उच्च स्थानका गाउँहरुमा समेत बाक्लो हिउँ परेको वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । हिउँ परेसंगै चिसो अत्यधिक रुपमा बढेकाले स्थानीय जनजिवनमा समेत चिसोको प्रभाव पर्ने बताउँनुभयो । यो सिजनकै कार्तिक महिनामै पहिलो हिउँ परेकाले स्याउ लगायतका अन्नबालीलाई फाईदा पुगेको वडाध्यक्ष गुरुङले बताउँनुभयो । हिउँले खेतीयोग्य जमिनको भित्री तहसम्म सिन्चित गर्ने भएकाले हिउँदयामको कृषकहरुका लागि बरदान सावित हुने वडाध्यक्ष गुरुङको भनाई छ ।


प्रतिक्रिया