मुस्ताङमा जारी सिजनको पाँचौं पटक हिमपात भएको छ । हिउँदयामको समाप्तिसंगै गर्मीयामको सुरुवाती चरणमा वारागुङ मुक्तिक्षेत्र र माथिल्लो मुस्ताङमा हिमपात भएको हो ।
यहाँ स्थित वारागुङ मुक्तिक्षेत्रका विभिन्न स्थानमा आईतबार दिउँसोदेखि हिमपात भएको थियो । यसैगरी माथिल्लो मुस्ताङमा क्षेत्रमा आईतबार राति आशिंक हिमपात भएको हो । मुस्ताङको तल्लो क्षेत्र थासाङ र घरपझोङ गाउँपालिकाका उच्चलेंकहरुमा समेत आशिंक हिमपात भएको हो ।
जारी सिजनको पाँचौं पटक हिमपात हुँदा वारागुङ मुक्तिक्षेत्र—१ अन्तर्गत मुक्तिनाथ ,झारकोट,खिङ्गा,झोङ, छेङगुर र पुडाक गाउँ तथा उच्चलेंक हिमपातले सेताम्मे भएको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिनुभयो । हिउँदयामको समाप्ति हुँदै गर्दा केही तातो महशुस भएकै बेला पून ः हिमपात हुँदा चिसो अत्यधिक बढेको व्यवस्थापक भुसालको भनाई छ ।
हिमपात बेला मुक्तिनाथ दर्शन गर्न टाढा टाढाबाट आएका पयटकहरु हिमपात छल्ने ओत लाग्ने स्थान नहुँदा समस्यामा परेका थिए । समितिले मुक्तिनाथ दर्शन गर्न आउने पर्यटकको सुविधाका लागि आवश्यक पूर्वाधार निर्माण गर्न पुरातत्व विभागमा स्वीकृतका लागि प्रस्ताव पठाईएको भएपनि कुनै निर्णय हुन नसकेको व्यवस्थापक भुसाल बताउँनुहुन्छ ।
प्रतिकूल मौसम र हिमपातका बावजुद दर्शनार्थीहरुले हिमपात र चिसो सहँदै कुण्डमा स्नान गर्ने र मन्दिरको दर्शन गरी फर्किएको व्यवस्थापक भुसालले उल्लेख गर्नुभयो । मन्दिरमा दर्शन गर्न आउने भक्तजनका लागि मुक्तिनाथ विकास समितले दाउँरा बालेर आगो ताप्ने व्यवस्था गरिदिएको व्यवस्थापक भुसालको भनाई छ ।
आईतबार राति मुस्ताङको वारागुङ,लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा आशिंक हिमपात भएको थियो । यस्तै तल्लो मुस्ताङ क्षेत्रमा मझौला वर्षा भएको थियो । हिमपातका कारण माथिल्लो मुस्ताङमा चिसो अत्यधिक बढेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । ‘हिउँ पर्नु अघि माथिल्लो मुस्ताङमा चिसो कम हुँदै गईरहेको थियो, तर यहाँ फेरी हिमपात भएकाले पून ः चिसो ह्वात्तै बढेको छ ,’ प्रमुख पौडेलले भन्नुभयो,‘यहाँको तापक्रम हिउँ पर्नुअघि औसत अवस्थामा रहेपनि हिमपातपछि यहाँको तापक्रम माईनस १३ डिग्रीमा झरेको छ ।’ हिमपातका कारण माथिल्लो मुस्ताङमा स्थानीयको दैनिकी कष्ठकर बनेको प्रमुख पौडेलले उल्लेख गर्नुभयो ।
यसैगरी तल्लो मुस्ताङका उच्चलेंकमा आशिंक हिमपात र बस्ती क्षेत्रमा वर्षा हुँदा चिसो अप्रत्याशित रुपमा वृद्धि भएको जोमसोमका स्थानीय अजित थकालीले जानकारी दिनुभयो । गर्मीयाम सुरु हुँदै गर्दा वर्षा र हिमपात भएकाले यहाँको तापक्रम माईनस ४ डिग्रीमा झरेको थकालीको भनाई छ ।
मुस्ताङमा पाचौं पटक पून ःहिमपात भएसंगै कृषकहरुमा उत्साह थपिएको छ । गत वर्ष अनुकुल समयमा हिमपात नहुँदा चिन्तित भएका मुस्ताङका किसानहरु यसवर्ष पाँच पटक सम्म हिउँ परेकाले बालीनाली सप्रिने र उत्पादन वृद्धि हुँनेमा आशावादी रहेको घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले बताउँनुभयो । हिमपातले खेतीयोग्य जमिनलाई सिञ्चित गरी उर्वराशक्ति वृद्धि गराउने र अनुकुल मौसममा परेको हिउँले स्याउ लगायतका फलफूल तथा तरकारी बालीमा लाग्ने रोगकिराको संक्रमण रोकथाम गरी उत्पादन वृद्धि गराउने कृषि शाखा प्रमुख थकालीको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली