कुनै बेला कृषि र पशुपालन व्यवसायमा मात्रै सीमित मुस्ताङको घरपझोङ—५ ठिनी गाउँका महिला समुदाय अचेल ठिनी थकाली होमस्टेमा पर्यटक वृद्धि हुन थालेपछि उत्साहित भएका छन् । सधैंभरी कृषि र पशुपालन गरेर जिविकोपार्जन चलाईरहेका ठिनी गाउँका महिलाहरु पछिल्लो समय होमस्टे (घरबास) चलाएर गतिलो आम्दानी गर्न थालेका छन् ।
एक दशक अघि यहाँको ठिनी गाउँ गुमनाम जस्तै थियो । गाउँका केही वैदेशिक रोजगारका लागि विदेशी भाँसिएका छन् । गाउँमा केही पढेलेखेकाहरु सरकारी तथा निजी संघसंस्थामा जाँगिर गरेका छन् । गाउँमा बसेका अधिकाँश नागरिकहरु भने कृषि र पशुपालन व्यवसायमा आवद्ध छन् ।
मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोम बजार आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन गुल्जार हुँदा यहाँको ठिनी गाउँ सुनसान जस्तै हुन्थ्यो । जोमसोम बजारदेखि करिव ३ किलोमिटर पूर्व भिरालो सतहमा अवस्थित यहाँ ठिनी गाउँ पर्यटकविहिन हुन्थ्यो । राष्ट्रिय राजमार्ग सडकका होटलहरु पर्यटकले भरिभराउ हुँदा ठिनी गाउँमा पर्यटकमैत्री पूर्वाधार बनिसकेको थिएन । यसैका कारणले पनि यहाँको ठिनी गाउँ पर्यटन प्रर्वद्धनात्मक कार्यक्रम हुन नसक्दा आझेलमा परेको थियो ।
ठिनी गाउँमा करिव एक सय बढी घरधुरीको बसोबास छ । जसमध्ये अधिकाँश घरधुरी थकाली समुदायकै बाहुल्यता छ ।भिरालो सतहमा अवस्थित यहाँको ठिनी गाउँ प्राचिन समयमा ठिनी गाउँका तिन आँखे राजा अर्थात राजा थर्कोचेनले बस्ती बसालेको भन्ने भनाई छ । यही बस्तीका युवाहरुको संगठित संस्था हो जनमुक्ति युवाक्लव । यहाँका युवाहरुलाई खेलकुद र सामाजिक क्रियाकलापमा क्रियाशील गराउने उद्देश्यले खोलिएको यसक्लवले विस्तारै पर्यटन प्रर्वद्धनमा समेत जोड दिन थाल्यो । यसैका खातिर यहाँको ठिनी गाउँको जनमुक्ति युवाक्लवको पहलमा गाउँमा कृषि पशुपालनमा सीमित महिलाहरुलाई पर्यटन विकासमा जोड्दै आयआर्जनको मार्ग पहिल्यायो ।
यहाँको क्लव वि.स. २०७३ सालमा ठिनी गाउँका महिलाहरु पर्यटन उद्यमीका रुपमा विकास गर्ने लक्ष्यसहित सुवाआती ५ घरधुरीलाई आवद्ध गराएर ठिनी थकाली सामुदायिक होमस्टे स्थापना ग¥यो । स्थापनासंगै क्लवकै सक्रियतामा विभिन्न सरकारी संघसंस्थाहरुको सहयोगमा तालिम, भ्रमण र होमस्टे पूर्वाधार निर्माणको थालनी गरियो । स्थापनाको दोस्रो वर्ष २०७४ सालमा यहाँको ठिनी थकाली सामुदायिक होमस्टे आधिकारिक सरकारी निकायमा दर्ता गरियो ।
करिव एक दशक अघि पाँच घरधुरीबाट सुरु भएको यहाँका ठिनी थकाली सामुदायिक होमस्टे पछिल्लो समय १३ घरधुरी संख्या होमस्टेमा जोडिएको होमस्टे सचिव जुमा थकालीले बताउँनुभयो । यहाँ ठिनी थकाली सामुदायिक होमस्टेका लागि पर्यटन बोर्ड,प्रदेश सरकार,घरपझोङ गाउँपालिका,एक्याप र सामाजिक सेवा कार्यालयले लगायतले सहयोग पु¥याएको सचिव थकालीको भनाई छ ।
ठिनी गाउँमा प्राचिन कालमा निर्माण गरिएका ढुंगा र माटोले निर्मित सांस्कृतिक घरहरुलाई पर्यटक आउँदा बाँस बसाल्न मिल्ने गरी सबै होमस्टे घरधुरीहरुले व्यवस्थापन गरिसकेका सचिव थकालीले उल्लेख गर्नुभयो । यहाँ केहीघरधुरीले होमस्टे भन्दा बाहिर रहेर पनि होटलहरु चलाएका सचिव थकाली बताउँनुहुन्छ ।
यहाँको ठिनी स्थित थकाली सामुदायिक होमस्टेका महिलाहरुलाई होमस्टे चलाउन डाईनिङ हल,किचन कोठा र कार्यक्रम संञ्चालन लगायतका पूर्वाधारहरु विभिन्न सरकारी निकायको सहयोगमा व्यवस्थापन गरिएको छ । होमस्टेमा आएका पर्यटकहरुलाई मनोञ्जनात्मक कार्यक्रम गर्न र पर्यटक उम्क्याउन सोही पूर्वाधार निर्माण गरिएको होमस्टे सचिव थकाली बताउँनुहुन्छ । पर्यटकहरुलाई आवासको व्यवस्था भने सम्वन्धि होमस्टेमा आवद्ध महिलाहरुको होटल घरमा लगेर व्यवस्थापन गर्ने गरिएको उहाँको भनाई छ ।
पछिल्लो समय ठिनी गाउँमा पर्यटक लक्षित स्वागत गेट निर्माण गरिएको छ भने एक्यापले होमस्टेका बिषयमा सूचनामूलक बोर्डहरु टाँस गरेको छ । ठिनी थकाली सामुदायिक होमस्टेका सदस्य स्थानीय बत्तीमाया थकालीका अनुसार विगतका वर्षहरु भन्दा यस आर्थिक वर्षमा पर्यटक संख्या अनपेक्षित रुपमा वृद्धि भईरहेको बताउँनुभयो । सुरुआती चरणमा होमस्टेमा पर्यटक नआउँदा सुनसान हुने गरेकोमा पछिल्लो केहीवर्ष यता वर्सेनि पर्यटकको संख्या बढ्दै गईरहेको बताउँनुभयो । पछिल्लो समय यहाँको होमस्टेमा मासिक दुई हजारदेखि तीन हजारसम्म पर्यटकहरु बाँस बस्न आउने गरेको होमस्टे सदस्य थकालीको भनाई छ । गण्डकी प्रदेश सरकारद्वारा निर्माण गरिएको ठिनी हुँदै ढुम्बाताल जाने थाक पाँच गाउँ जोड्ने चक्रपथ सडक बनेकाले पर्यटक आगमनदर झनै बढेको छ । ‘यहाँको हामीहरुले चलाएको होमस्टे स्थापित हुन केही वर्ष लाग्यो,पछिल्लो केहीवर्ष यता होमस्टेमा पाहुना आउने क्रम बढेको छ, होमस्टे सदस्य थकाली भन्नुभयो,‘ ठिनी थकाली होमस्टे खोजीखोजी आउन हुन्छ, आएका पाहुना पर्यटकहरुलाई व्यवस्थित सेवा दिएर पठाईरहेका छौं ।’
ठिनी थकाली सामुदायिक होमस्टेका महिलाहरु दुई भागमा विभाजन गरेर आलोपालो होमस्टे सेवा प्रदान गर्ने गरिएको छ । यहाँको ठिनी थकाली सामुदायिक होमस्टेमा आएका पाहुनालाई यहाँको अर्गानिक उत्पादन पस्किने गरेको अर्को होमस्टे सदस्य आईतकुमारी थकालीले जानकारी दिनुभयो ।
थकाली सामुदायिक होमस्टेमा पाहुनालाई सुलभ मूल्यमा खानेबस्ने लगायतका सेवा सुविधा प्रदान गरिएको छ । यहाँ उत्पादन हुने फाँपरको परिकार मध्ये फापरको ढिडो, फापरको रोटी,सिमीको दाल,याक र च्यांग्राको सुकुटी ,लोकल कुखुराको मासु आदीको व्यवस्था गरिएको छ ।
पछिल्लो समय गाउँपालिकाको ५० प्रतिशत अनुदानमा बेकरी बनाउन उपकरण समेत होमस्टेलाई उपलब्ध भएको छ । यसबाट होमस्टेका महिलाहरुले फापर,मकै,जौ,उवा लगायतबाट विभिन्न बेकरी परिकारहरु तयारी गरेर बिक्री वितरण समेत गर्दैआईरहेका छन् ।
होमस्टेमा बाँस बस्न आएका पर्यटकहरुको मनोरञ्जनका लागि ठिनी गाउँका महिलाहरु थकाली संस्कृतिक लगायतका मौलिक लोकनृत्य प्रस्तुत गरी भरपुर मनोरञ्जन प्रदान गर्ने गरेकाले पनि ठिनी गाउँको थकाली सामुदायिक होमस्टेको चर्चा परिचर्चा चुलिएको हो ।
यसैगरी ठिनी गाउँको प्राचिन सांस्कृतिक बस्ती, थकाली सग्रालय,गुम्बा, स्नो लियोपार्ट, यारुझो भ्युटावरका साथ ढुम्बाताल अवलोकन गर्न जाने पर्यटकीय पदमार्ग र सडक मार्ग ठिनी गाउँकै गन्तब्य भएकाले यहाँको होमस्टेमा बर्सेनि पर्यटकको संख्या वृद्धि भईरहेको स्थानीय निरज थकालीको भनाई छ । उहाँका अनुसार विश्वकै अग्लो उचाईमा अवस्थित सबै भन्दा छोटो दुरीको तिलिचो ताल पदमार्ग ठिनी गाउँबाटै प्रारम्भ हुने भएकाले पर्यटकको आकर्षण बढ्दो रहेको स्थानीय थकालीले उल्लेख गर्नुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली