फालो पर्वमा गाईने ‘ अ‍ै हो ल्हासी अ‍ै हो ’ गीत बिमोचन

‘अ‍ै हो ल्हासी  अ‍ै हो’ थकाली गीत


जोमसोम—मुस्ताङमा बिहिबार थकाली सांस्कृतिक गीत बिमोचन गरिएको छ । पर्यटन प्रर्वद्धनमा टेवा पू¥याउने उद्देश्यले मुस्ताङको ऐतिहाँसिक,धार्मिक र सांस्कृतिक लगायतका विविधता झल्काउने थकाली गीत बिमोचन गरिएको हो । 

मुस्ताङको घरपझोङ गाउँपालिका—५ स्थित ठिनी थकाली सामुदायिक होमस्टेका लागि तयार पारिएको थकाली गीतसहित अर्को एक नेपाली गीतको पनि सोही समारोहमा बिमोचन भएको छ ।

अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना (एक्याप) मुस्ताङको आयोजना तथा ठिनी थकाली होमस्टेको समन्वयमा भएको थकाली सांस्कृतिक गीत बिमोचन तथा पर्यटन सम्वन्धि गोष्ठि कार्यक्रममा घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले कम्प्यूटरमा रहेको गीतलाई प्ले गरी बिमोचन गरे । अध्यक्ष लालचनले पर्यटन विकासको गतिलाई थप उचाईमा लैजान यसप्रकारका धर्मसस्कृति र मौलिकता झल्काउने गीतले पर्यटन प्रर्वद्धनमा ठुलो सघाउ पू¥याउने बताए ।

 अध्यक्ष लालचनले मुस्ताङको पृथक भूगोल र जैविक विविधता मात्रै होईन मुस्ताङ जिल्लाको धर्म,संस्कृति रहनसहन ,भेषाभुषा, सास्कृतिक पहिचान र मौलिक धरोहरले समेत महत्वपूर्ण पर्यटकीय गन्तब्य रहेको औल्याए । 

उनले स्थानीय मौलिक गीतसगितले मुस्ताङको सबै थोकको वर्णन गर्नसकिने भएकाले बिमोचित गीतको प्रभावले यहाँको पर्यटन प्रर्वद्धनमा नयाँ आयाम थपिने विश्वाश व्यक्त गरे ।   

घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष जमुना थकालीले थकाली होमस्टेका लागि बनेको गीतले सांस्कृति धरोहरको संरक्षणमा योगदान पुग्ने जनाईन् । उनले थकाली सामुदायिक होमस्टेका लागि तयार गरिएको गीत कुनै सामाजिक संञ्जालमा भ्यू प्राप्त गर्न नभई होमस्टेमा बाँस बस्ने पर्यटकको मनोरञ्जनका लागि तयार पारिएको उल्लेख गरिन् । एक्याप मुस्ताङका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले पर्यापर्यटनका लागि होमस्टेन प्रर्वद्धन गर्न एक्यापले मागका आधारमा आर्थिक तथा सृजनात्मक कार्यहरुमा समेत सहकार्य गर्दैआईरहेको बताए । उनले यहाँका पर्यटन विकासले मात्रै मुस्ताङको आर्थिक समृद्धिमा ठुलो सहयोग पू¥याउन जनाए ।

थकाली सामुदायिक होमस्टे घरपझोङ—५ ठिनीको निर्माण तथा अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना (एक्याप) मुस्ताङको आर्थिक सहयोगमा थकाली गीतसहितको दुई वटा गीत रेकर्डिङ गरिएको हो । घरपझोङ—५ ठिनीका स्थानीय युवा निरज थकालीले थकाली गीतको शब्दरचना गरेका छन् भने यानीमाया बोलको नेपाली गीतको शब्दरचना बशन्त थापाले लेखेका हुन् । दुबै गीतको संगित अशोककुमार राईले गरेका छन् ।

 थकाली सामुदायिक होमस्टे प्रर्वद्धन तथा विकासका लागि तयार गरिएको थकाली भाषाको गीतले तीन गाउँले थकालीहरुले मनाउने पर्व फालो पर्वको बिषयवस्तुलाई समेट्ने प्रयास गरिएको छ ।

‘‘अ‍ै हो ल्हासी अ‍ै हो’’ बोलको थकाली गीतमा गायक साजन राई र गायिका  बिनुसा राईले स्वर दिएका छन् । बर्सेनि तीन गाउँले थकाली समुदायका थकालीहरुले भदौ र साउन महिनामा आउने फालो अर्थात भदौ मेला०मा यो गीत गायर नृत्य प्रस्तुत गर्ने प्रचलन छ । यो थकाली गीतले फालो पर्वको अन्तिमदिन ग्रहदशा फाल्ने र अनिष्ट नहोस भनी कामना गर्ने थकाली मौलिक कथावस्तुलाई  गीती भाकामा उजागर गर्न खोजिएको गीतका रचनाकार निरज थकालीले प्रष्ट्याए ।


 यसैगरी अर्को पर्यटन प्रर्वद्धन सम्वन्धि नेपाली गीत ‘मुस्ताङ जाने हो यानीमाया’ बोलमा गायक रुपक चौधरी र गायिका बिनुसा राईले स्वर दिएका छन् । यस गीतमा पनि मुस्ताङको धर्मसंस्कृति ,मौलिकता र पर्यटकीय गन्तब्यहरुलाई उजागर गरी मायाप्रेमसंग जोड्ने प्रयास गरिएको छ ।

थकाली सामुदायिक होमस्टेमा आयोजित बिमोचन समारोहमा दुबै गीतमा ठिनी थकाली सामुदायिक होमस्टे उपसमितिका सांस्कृतिक  टोलीले नृत्य प्रस्तुत गरेका थिए । बिमोचन गरिएको गीत अब थकाली होमस्टेमा आउने आगन्तुक पाहुनाहरुका लागि नृत्य प्रयोजनमा प्रस्तुत हुने होमस्टे सचिव जुमा थकालीले जानकारी दिईन् । 

मुस्ताङ सदरमुकाम जोमसोम नजिकै रहेको ठिनी गाउँ पर्यटकीय दृष्ट्रिकोणले ओझेलमा परेको गाउँ हो । ६ वर्षअघि जोमसोमका होटलहरु खचाखच पर्यटक भरिदा समेत ठिनी होमस्टेले कुनै लाभ लिनसकेको थिएन ।

 जनमुक्ति युवाक्लवले त्यहाँ होमस्टे संञ्चालनका लागि महिलाहरुलाई संगठित गर्दै लगेपछि त्यहाँ १० घरधुरीले सामुहिक होमस्टे चलाईरहेका छन्  । कृषि व्यवसायमा मात्र आश्रित ठिनी गाउँका थकाली महिलाहरु होमस्टेमा पर्यटकको चहलपहल बढेपछि बैकल्पिक आयश्रोतको गतिलो माध्यम बनेको छ । 

होमस्टेका लागि पर्यटन प्रर्वद्धन सम्वन्धि गीत बिमोचन कार्यक्रममा एक्याप मुस्ताङले वार्षिक प्रगती विवरण तथा पर्यटक संम्भावना र चुनौतीका बिषयमा समेत सरोकारवालाहरुलाई जानकारी दिएको छ ।


प्रतिक्रिया