सिजा झोङ गुफाको स्वामित्व गाउँपालिकालाई दिन स्थानीय सकारात्मक :- पालिका

जोमसोम:
लोमान्थाङ—१ छोसेरमा रहेको हजारौं वर्ष पुरानो मानव निर्मित ऐहितिहाँसिक सिजा झोङ गुफा स्वामित्व हस्तान्तरणका लागि बहश सुरु भएको छ । १५५ फिट अग्लो ५ तले ४० कोठाको यस गुफालाई स्थानीय तह हस्तान्तरण गरेर यसको विकास र संरक्षण गर्नुपर्ने आवाज उठेको छ । 
गुफालाई संघीयता अघिदेखिनै छोसेर स्थित हिमालयन युवाक्लवले आन्तरिक व्यवस्थापन गर्दैआईरहेको छ । गुफाको आन्तरिक व्यवस्थापन र पर्यटकका लागि गुफा अवलोकन गर्ने ठेक्का बर्सेनि सोही क्लवले गर्दैआईरहेको छ । गुफा अवलोकनका लागि नेपाली आन्तरिक पर्यटकका लागि १ सय रुपैया र विदेशी पर्यटकका लागि १ हजार शुल्क क्लवलेनै तोकेको छ । गुफा अवलोकनका लागि पर्यटकबाट उठेको शुल्क सोही स्थानको दिव्यदीप स्कुल ,क्लव र अन्य निकायमा भागबण्डा लगाएर बितरण गर्ने गरिएको छ । स्थानीय र क्लवको संरक्षण तथा स्वामित्वमा रहेको छोसेरको सिजा झोङ गुफा स्तरोन्नतिमा लोमान्थाङ गाउँपालिकाले पनि आशिंक रुपमा लगानी गर्दैआईरहेको छ ।
  छोसेरका स्थानीय र क्लवको स्वामित्वमा रहेको सिजा झोङ गुफालाई पछिल्लो समय स्थानीय तहलाई हस्तान्तरण गरिनुपर्ने बहश चलेको छ । लोमान्थाङ गाउँपालिका र गुफाको अख्तियारी लिएको हिमालयन युवाक्लवबिच गुफा हस्तान्तरण गर्ने  बिषयमा मौखिक सहमती भएको लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन पौडेलको भनाई छ । केही महिना अघि भएको दुईपक्षियबिच गुफालाई स्थानीय तहमा स्वामित्व हस्तान्तरण गर्ने बिषयमा छलफल भएको र यसमा क्लवका पदाधिकारी तथा सदस्यहरु सकारात्मक रहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जनाए । सदिंयौदेखि स्थानीय र क्लवले भोगचलन गर्दैआईरहेको गुफा हो,क्लवबाटै पर्यटकका लागि अवलोकन शुल्क उठाउने ठेक्का लाग्छ, प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने, सार्वजनिक सम्पती भित्र गुफा पनि पर्छ, यसैले गापाले स्वामित्व लिनुपर्छ यसको स्तरोन्नति र विकास गरिनुपर्छ भन्ने हाम्रो भनाई हो, सबैको सामुहिक सहमती भयो भने बैशाख महिनामै बहुर्षीय ठेक्का गापाले लगाउने छ ।’
 प्रमुख प्रशासकीय अधिकृत पौडेलले गापालाई स्वामित्व हस्तान्तरण भएमा सोही स्थानका जनतालाई लक्षित हुने गरी गापाले कार्यविधि र ऐन कानुन पास गरेर अघि बढ्ने बताए । उनले चालु वर्षको चैत्र मसान्तसम्म क्लवको ठेक्का सकिने भएकाले त्यसपछि कसरी गुफालाई समुचित रुपमा विकास गर्ने र स्थानीय सरकार संञ्चालन ऐन २०७४ अनुसारको प्रक्रियालाई अघि बढाईने बताए । गुफालाई स्थानीय तहलाई स्वामित्व हस्तान्तरण गर्नेतर्फ सकारात्मक छलफल अघि बढेको प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाई छ ।
 यता, छोसेर स्थित सिजा झोङ गुफा रहेको वडाका वडाध्यक्ष पेमा आङ्ग्या गुरुङले गुफाको स्वामित्व हस्तान्तरण गर्ने बिषयमा प्रारम्भिक छलफल भईरहेको भएपनि यस बिषयमा ठोस निर्णय भईनसकेको जानकारी दिए । उनले ३ तहको सरकार अन्तर्गत सार्वजनिक सम्पतीको संरक्षण,रेखदेख र व्यवस्थापन स्थानीय तहको काँधमा भएपनि पालिका भित्रका सबै सार्वजनिक सम्पती र सम्पदा पालिका मातहतमा ल्याउने सुनिश्चत भएमा गुफालाई स्वामित्व हस्तान्तरण गर्न आफुहरुलाई कुनै आपत्ति नहुने वडाध्यक्ष गुरुङले दर्शाए ।

‘हामीले अहिलेसम्म उपभोग गर्दै आईरहेको गुफा स्थानीय तहलाई सुम्पिन तयार छौं, उनले भने, ‘त्यो भन्दा पहिले पालिका भित्रका यसप्रकारका भौतिक तथा सांस्कृतिक सम्पदाहरु पालिका मातहतमा आउने ग्यारेन्टी स्थानीय तहले गर्नुपर्छ , यसो हुन सक्यो भने हामी गुफालाई पालिकाको जिम्मा लगाउन तयार छौं ।’


प्रतिक्रिया