निषेधित हटाईनु पर्छ : टसीनर्बु गुरुङ

बिचार बिमर्श

 उपल्लो मुस्ताङ उत्तरी छिमेकी देश चीनसंग सीमाना जोडिएको सीमावर्ती क्षेत्र हो । पर्यटन,खनिज ,जैविक विविधिता र यहाँको धार्मिक सांस्कृतिक र ऐतिहाँसिक पुरातात्विक सम्पदाले उपल्लो मुस्ताङ निकै धनी छ । यहाँको तिब्बतीय कलासंस्कृति ,पुरातात्विक सम्पदाले महत्वपूर्ण मानिएको उपल्लो मुस्ताङको पृथक भूगोल,प्राचिन गुम्बा र गुफैगुफाहरुले यहाँ आउने आन्तरिक तथा बाहय पर्यटकको मन नलोभ्याउने त कुरै भएन ।

कृषि र पर्यटनले प्रचुर सम्भावना भएको हिमालपारि मुस्ताङमा उपल्लो मुस्ताङलाई पर्यटनका हिसाबले राज्यले फरक दृष्टिकोणले हेर्ने गरेको छ, यो हामी उपल्लो मुस्ताङबासी र म स्वंय लोमान्थाङ गाउँपालिकाको अध्यक्ष भएको कारण पनि कताकता दुखित छु । हिजोको अवस्था जे थियो ,अहिलेको अवस्थामा त्यो भन्दा नितान्त भिन्न छ ।चीनसंग सिमाना जोडिएको उपल्लो मुस्ताङलाई राज्यले भुराजनीतिक हिसाब हो वा अन्य कारणले हो अझै हाम्रो क्षेत्रलाई निषेधित तथा नियन्त्रित क्षेत्रकै रुपमा राखिराखेको अवस्था छ ।

हामी गाउँपालिका र उपल्लो मुस्ताङबासी यसमा निकै सजग र सचेत पनि छौं । हाम्रो दृष्टिकोण उत्तर र दक्षिणका छिमेकी देश सबैलाई हेर्ने दृष्टिकोण समान छ । सरकारले अहिले सम्म पनि उपल्लो मुस्ताङलाई निषेधित तथा नियन्त्रित क्षेत्रबाट फुकुवा गरी पर्यटन गतिविधि चलाएमान बनाउनेतर्फ ध्यान गएको पाईदैन । यसका कारण पनि हाम्रो ठाउँमा अथाह सम्भावना भएर पनि यहाँका यूवायूवतीहरु युरोप र अमेरिका लगायतका देशहरुमा रोजागारीका लागि पलायन हुन बाध्य भईरहेका छन् । गाउँमा सडकसंगै विकास ढोका खुलेको छ तर  विकासले पछ्याई रहेको उपल्लो मुस्ताङमा  गाउँ घरका यूवापंक्तिलाई रोक्न सकिरहेको अवस्था छैन । यसले उपल्लो मुस्ताङका नागरिकको बाँच्न पाउने अधिकार हनन भएको छ । यसमा सरकार गम्भिर भएर उपल्लो मुस्ताङका नागरिकको चाहना र भावना बुझ्न आवश्यकता ठान्दछु ।

निषेधित क्षेत्रका कारण ५ प्रतिशत पनि विदेशी उपल्लो मुस्ताङ आएनन्


मुस्ताङमा वार्षिक ९० हजार विदेशी पर्यटक आउछन् तर हाम्रो क्षेत्र उपल्लो मुस्ताङमा त्यसको ५ प्रतिशत पनि विदेशी पर्यटक आउँदैनन् । यसको मुख्य कारण हो उपल्लो मुस्ताङका लागि सरकारले लिने चर्को पर्यटन रोयल्टी शुल्क । उपल्लो मुस्ताङ घुम्न विदेशीले राज्यलाई ५ सय डलर बुझाउनु पर्छ,जुन सर्वसाधारण विदेशी पर्यटकका लागि यो निकै ठुलो आर्थिक व्ययभार हो । चर्को पर्यटन शुल्ककै कारण हामी कहाँ केही भीआईपी पर्यटक बाहेक अन्य पर्यटक तल्लो मुस्ताङबाटै फर्किएर जान्छन् ।उनीहरुलाई यहाँ आएर घुम्ने आर्थिक सामथ्र्य हुदैन । हामो क्षेत्रका पर्यटन व्यवसायी र हामी गाउँपालिकाको तर्फबाट पनि यो बिषयमा बारम्बार सरकारको ध्यानाकर्षण गराई रहेका छौं ।

यसै वर्षको भदौ महिनामा तत्कालिन गृह मन्त्री नारायणकाजी श्रेष्ठ मुस्ताङ आउदा र पुस महिनामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुस्ताङ आउदा  हामीहरुले ज्ञापन पत्र बुझाएर उपल्लो मुस्ताङलाई फुकुवा गरिदिन लिखित र मौखिक आग्रह गरेका थियौं । खोई अहिलेसम्म त्यसको कुनै सुनुवाई हुन सकेको छैन । राज्यले उपल्लो मुस्ताङबाट जति राजश्व उठाईरहेको छ त्यसको केही हिस्सा यहाँका विकासमा खर्चिनु पर्छ भनेर हामीले सरकार समक्ष माग राखेका थियो । त्यसको पनि उचित सम्वोधन हुन सकिरहेको छैन । गाउँपालिकाको सीमित बजेट र श्रोतसाधनले यहाँका सबै खाले विकास गर्न सम्भव छैन । यसैले हामीले गुमाएको अवसर यही ठाउँमा खर्च होस भन्ने हाम्रो भनाई हो ।

पर्यटन क्षेत्रमा तल्लो मुस्ताङले जति लाभ लिन सकेको छ त्यो हाम्रो क्षेत्रका पर्यटन व्यवसायी चौथाई पनि लाभ लिन सकिरहेको अवस्था छैन । पछिल्लो समय कोरला सडक विस्तार भएपनि सडकले त जोडिएको आर्यआर्जनको माध्यममा जोडिन सकिरहेको अवस्था छैन । लोमान्थाङ र गाउँपालिका क्षेत्रका थुप्रै पर्यटक लक्षित होटलहरु थपिएका छन् । सडकले आन्तरिक पर्यटकलाई डोहो¥याउदै यहाँसम्म त ल्याएको छ, तर, विदेशी पर्यटकहरु चर्को रोयल्टीकै कारण चाहेर पनि आउन सक्ने भएनन् ।

भौगोलिक रुपले अत्यन्तै विकट उपल्लो मुस्ताङ क्षेत्रमा खेती किसान र पशुपालन व्यवसायले बाह्रै महिना थेग्न मुश्किल पर्छ । यसकै कारण हाम्रो क्षेत्रका नागरिकहरु हिउँदको जाडोमा घुम्ती व्यापार व्यवसायका लागि बेसी झर्नुपर्ने हुन्छ । यसैका कारण यहाँ बाह्रै महिना पर्यटन व्यवसायलाई चलायमान बनाउन उपल्लो मुस्ताङलाई सरकारले निषेधित क्षेत्रबाट हटाई दिओस भन्ने हाम्रो अपेक्षा हो ।

गाउँमा विकास र अवसर आयो, विदेश पलायन रोकिएन


सरकारले हामीहरुका लागि कोरलानाका त खुल्ला गरेको छ, यो निकै स्वागतयोग्य कदम हो । नाका खुलेपछि चीनिया भूमीमा गएर मालसमान किन्न निकै सहज भएको छ, केहीले चीनिया सामान किनेर आन्तरिक व्यापार पनि गर्न थालिसकेका छन् । यसले उनीहरुका् आर्थिक जीवनमा केही राहत पू¥याएको छ ।

पछिल्लो समय कोरलानाका हेर्न आउने आन्तरिक पर्यटकले गर्दा यहाँको पर्यटनमा केही आशा जगाएको छ । अब योनाका सबैका लागि सदैव खोलेर व्यापारिक केन्द्रको रुपमा विस्तार गरिदिओस भन्ने हाम्रो चाहना हो ।


प्रतिक्रिया