जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ३१ करोड १८ लाख ७६ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । सोमबार आयोजित घरपझोङ गाउँपालिकाको १४ औं गाउसभा अधिवेशनमा उपाध्यक्ष जमुना थकालीले आगामी आर्थिक वर्षका लागि पेस गरिएको बजेटमा चालुतर्फ १७ करोड २८ लाख र पुँजिगततर्फ १३ करोड ९० लाख बजेट विनियोजन भएको हो ।
गाउँपालिकाको प्रस्ताविक बजेटमा संघीय वित्तिय समानिकरण ६ करोड ९६ लाख र प्रदेश वित्तिय समानिकरण अनुदान ६६ लाख ५१ हजार छ । गाउँपालिकाको संघीय सशर्त अनुदान चालुतर्फ ९ करोड ८३ लाख छ भने प्रदेश सशर्र्त अनुदान १ करोड छ ।
यसैगरी राजश्व बाँडफाँडतर्फ संघीय सरकारबाट प्राप्त रकम ४ करोड ५६ लाख विनियोजन भएको हो । गाउँपालिकाको आन्तरिक श्रोत १ करोड १७ लाख ७० हजार प्रक्षेपण गरिएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष थकालीले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा केही ठुला तथा बहुवर्षीय योजनाहरुलाई प्राथमिकरण गरिएको छ । जसअन्तर्गत संघीय सरकारबाट प्राप्त घरपझोङको मार्फा—छैरो जोड्ने निर्माणका लागि क्रमागत बजेट १ करोड ४० लाख विनियोजन गरिएको छ ।ठिनी स्याउग्राम निर्माण योजनाका लागि क्रमागत बजेट ७० लाख र स्याङ रोङ्तीदेखि पुलचोकसम्म कालिगण्डकी नदी नियन्त्रणमा योजनाका लागि प्रदेशबाट विनियोजित ६० लाख बजेटमा परेको छ ।
स्थानीय तह खेलग्राम निर्माणका लागि ४० लाख छ भने समपुरक कोषतर्फको १ करोड बजेटमा समावेश गरिएको छ । गाउँपालिकाको विपद् व्यवस्थापन कोषका लागि १३ लाख तथा सामाजिक सुरक्षा,स्थानीय छात्रवृद्धि,बालकोष लगायतमा १० लाख बजेट विनियोजन भएको उपाध्यक्ष थकालीले बजेट वक्तव्यमा सुनाईन् । फोहोर मैला व्यवस्थापनको लागि गरिने गाउँपालिका स्तरीय र वडास्तरी योजनाका लागि १७ लाख बजेट परेको छ ।
स्थानीय जनतासंग साझेदारी कार्यक्रमका लागि १५ लाख,घरपझोङ गौरवको आयोजनाको रुपमा ‘मातृचक्र कृषि उद्यान निर्माण’ जोमसोमका लागि ५० लाख बजेट विनियोजन भएको उपाध्यक्ष थकालीले जनाईन् ।
यसैगरी जोमसोम स्थित गणेश मन्दिर स्थलमा मुक्तिनाथ अन्नदान अतिथि भवन निर्माण योजनामा ९० लाख छुट्याईएको छ । सामाजिक विकासतर्फका कार्यक्रममा बालमैत्री स्थानीय शासन कार्यक्रममा पनि आवश्यक बजेट तर्जुमा गरिएको छ । विद्यालय दिवा खाजाको लागि थप ५ लाख विनियोज गरिएको छ ।
वैदेशिक रोजगारको लागि सामी कार्यक्रम,लोक सेवा आयोग तथा शिक्षक सेवा आयोगको लागि कक्षा संञ्चालन,स्वास्थ्य बीमा कार्यक्रम,कृषि तर्फ खनिज तेल वितरण र याकचौरी र च्यांग्रा प्रर्वद्धन कार्यक्रम संञ्चालन गर्न आवश्यक बजेट तर्जुमा गरिएको उपाध्यक्ष थकालीले बजेटमा उल्लेख गरेकीछिन् ।
स्वास्थ्यतर्फ मुस्ताङ अस्पतालमा फार्मेसी संञ्चालनका लागि चाहिने जनशक्ति व्यवस्थापनका साथै दन्त उपचार केन्द्र संञ्चालनका लागि दन्त चिकित्सकको पारिश्रमिक,एम्बुलेन्स सेवा,आयुर्वेद औषधालयको औषधि खरिद लगायतका कार्यक्रम छन् ।
घरपझोङले सामाजिक सुरक्षा भत्तातर्फ १ करोड ९० लाख विनियोजन गरेको छ । पर्यटन सूचना केन्द्र संञ्चालन तथा पर्यटन प्रर्वद्धनको लागि विविध कार्यक्रम ल्याउन बजेट सुनिश्चितता गरेको छ ।
यसअघि घरपझोङ गाउँपालिकाको १४ औ गाउँसभा अधिवेशनमा अध्यक्ष मोहनसिंह लालचनले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष जमुना थकालीले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष विनियोजित बजेट गाउँसभाले सर्वसम्वत पारीत गरेको थियो ।
गाउँसभाको समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि जिसस प्रमुख माया गुरुङले कृषि पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर स्थानीय तहले कार्यसम्पादन गर्नुपर्ने सुझाईन् । उनले स्थानीय तह संकलन गर्ने करलाई वैज्ञानिक र प्रभावकारी बनाउन व्यवसायी र सरोकारवालहरुलाई कर शिक्षाको सचेतना कार्यक्रम ल्याउन जोड दिईन् । मुस्ताङका प्रजिअ जनकराज पन्तले मुस्ताङ जिल्ला पर्यटनको विविध आयाम भएकाले पर्यटन प्रर्वद्धनका नयाँ र सृजनात्मक योजनाहरुलाई प्राथमिकता दिएर अघि बढ्न सुझाव दिए ।
गाउँसभामा सदस्यहरु नीति तथा कार्यक्रम र बजेट बक्तव्य माथि आफ्नो धारणा पेश गरेका थिए । गाउँसभा अधिवेशन अध्यक्ष मोहनसिंह लालचनको अध्यक्षता सम्पन्न भएको थियो । गाउँपालिका संसदीय अभ्याससहित नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता