यहाँ स्थित थासाङ गाउँपालिकामा निर्माणधिन (लेते—धम्पु) प्रिस्टेज पुल निर्माणा चरण ढिलासुस्ती देखिएको छ । थासाङ गाउँपालिका—३ लेते स्थित कालिगण्डकी नदी पारि ओझेलमा परेका दुर्गम गाउँहरु जोड्ने (लेते—धम्पु) मोटरेबल पुल निर्माण निर्माण कम्पनीको चरम ढिलासुस्ती र वेवास्ताका कारण पटक÷पटक अलपत्र परेको हो ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालयको अख्तियारीमा परेको कालिगण्डकी नदीमा निर्माणधिन प्रिस्टेज मोटरेबल पुल निर्माणमा चरम ढिलासुस्ती देखिएको हो । यहाँ निर्माणधिन पुलको वि.स. २०७६ साल फागुन २९ गते निर्माण कम्पनी देव एण्ड सायर कन्ट्रक्सनसंग ५ करोड ५ लाख लागतमा ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अवधि वि.स. २०७८ साल भदौं २८ गते अर्थात डेढ वर्षमा सम्पन्न गर्ने गरी निर्माण कम्पनी देव एण्ड सायर कन्ट्रक्सनसंग ठेक्का सम्झौता भएका थियो ।
एक स्पानको ३५ मिटर लम्बाई रहने गरी कालिगण्डकी नदीमा निर्माणधिन (लेते—धम्पु ) मोटरेबल पुल फुटपाथसहित ७ दशमलव ९ मिटर चौडा रहने गरी ठेक्का सम्झौता भएको थियो । सुरुवाती ठेक्का सम्झौता सकिएर हालसम्म चार पटकसम्म म्याद थप भईसकेको उक्त पुलको पछिल्लो म्याद थप गरिएको सम्पन्न अवधि वि.स. २०८३ साल असार ३१ गतेसम्म कायम भएको पूर्वाधार विकास कार्यालयका प्रमुख जिता गिरीले जानकारी दिनुभयो । प्रमुख गिरीका अनुसाल (लेते—धम्पु) मोटरेबल पुलको पछिल्लो भौतिक प्रगती ३३ दशमलव १३ प्रतिशत र भौतिक प्रगति ५५ प्रतिशत पुगेको छ । हालसम्म निर्माण कम्पनीले पुल निर्माणको काम गरे वापत रु. एक करोड ६३ लाख ६२ हजार रुपैया भुक्तानी लगेको कार्यालय प्रमुख गिरीले बताउँनुभयो ।
कालिगण्डकी नदीमा निर्माणधिन पुल निर्माणका लागि राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकमार्ग र मुख्य राजमार्ग सडकदेखि कालिगण्डकी पारि दुईतर्फी आरसीसी फाउन्डेसन र एबुटमेन्टसहित क्याप ढलानको संरचना तयार भईसकेको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ । पुल निर्माणका लागि स्ल्याप ढलान ,एप्रोज रोड र पुल फिनिसिङ लगायतका कामहरु बाँकी रहेको प्रमुख गिरीले उल्लेख गर्नुभयो ।
लामो समय अवधिदेखि पटक पटक अलपत्र पर्दैआईरहेको (लेते—धम्पु) पुल निर्माणको काम गत हप्तादेखि सुरु भएको पूर्वाधार विकास कार्यालयले बताएको छ । बर्खायाममा कालिगण्डकी नदीको सतह उच्च हुने भएकाले जतिसक्दो चाँडो पुलको स्ल्याब ढलानका लागि निर्माण कम्पनीलाई सचेत गराईएको प्रमुख गिरीले जनाउँनुभयो । पुल निर्माणका लागि सम्वन्धित कम्पनीले उपकरण र जनशक्ति कार्यस्थलमा परिचालित गरी अलपत्र पुलको काम सुरु गरिसकेको प्रमुख गिरीको भनाई छ ।
पुल निर्माणको अलपत्र काम पुनः सुचारु भएसँगै त्यस क्षेत्रका स्थानीय नागरिक उत्साहित भएका छन् । थासाङको दुर्गम कालीगण्डकीपारि रहेका गाउँहरु पुल नहुँदा निकै समस्यामा पर्दै आएका छन् । त्यस क्षेत्रका स्थानीय किसानले उत्पादन गरेको कृषि उपज पुल नहुँदा बजारीकरणमा समेत निकै समस्या पर्ने गरेको छ ।
लेते—धम्पु पुल निर्माण सम्पन्न भएमा कालीगण्डकी पारिका आधा दर्जन बस्तीका स्थानीय कृषकले उत्पादन गर्ने कृषि उपजको सहज बजारकरण गर्न सजिलो हुने स्थानीय नवीन शेरचनले जानकारी दिए । ६ वर्ष बितिसक्दा पनि पुल सम्पन्न हुन नसक्नु दुर्भाग्य भएको र अब पनि विकास पूर्वाधारका काममा ढिलासुस्ती गर्न नहुने शेरचनको भनाइ छ ।
थासाङ स्थित कालिगण्डकी नदी पारीका दुर्गम गाउँहरुमा अहिले संघीय एक निर्वाचन क्षेत्र एक रणनीतिक महत्वको कालोपत्र सडक निर्माण अन्तिम चरणमा रहेको र उक्त सडक जोड्ने (लेते—धम्पु) पुल सम्पन्न भएमा मुख्य राजमार्गदेखि कालिगण्डकी पारीका ग्रामिण वस्ती सडक कनेक्टिभिटीसंग जोडिने बताईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली