हिउँले ढाँकिएको मुस्ताङको लुङबुक गुफा ( तस्विरसहित)

 यहाँ स्थित मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—५ फल्याक  र धाकार्रजुङ गाउँ माथिको उच्च लेंकमा एक विशाल चट्टान रुपि पहाड छ । त्यही पहाडको तल्लो भागमा एक गुफा छ । यही गुफाको नाम हो लुङबुक गुफा ।

अहिले यस गुफाको करिव ७० प्रतिशत भाग पुरै हिउँले ढाकिएको अवस्थामा देख्न सकिन्छ । बर्खायाममा सामान्य देखिने यहाँ अवस्थित लुङबुक गुफाको स्वरुप हिउँदयामको समयमा यसको पुरै स्वरुप परिवर्तन हुन्छ । अक्सर यहाँको लुङबुक गुफा बर्सेनि मंसिरदेखि चैत्र महिनासम्म हिउँको घुम्टो भित्र लुकेको हुन्छ । अझै भनौ पुस र माघ महिनामा गुफा अवलोकन गर्न जाने हो भने लुङबुक गुफाको सबै भागलाई हिउँको बरफले ढाकिदिएको हुन्छ ।


ऐतिहाँसिक तथा धार्मिक सम्पदाले भरिएको यहाँ अवस्थित लुङबुक गुफालाई हिउँदयामको पुस र माघ महिनामा विशाल पहाडको उचाईबाट फेदैसम्म सेताम्मे हिउँको बरफका ढिस्का ढिस्काले छपक्कै ढाँकिएको हुन्छ । तर, जाडो याममा यहाँ खासै कोही नजाने हुनाले यहाँ स्थित लुङबुक गुफाको वास्तविक स्वरुप र  हिउँदयामको मौसममा गुफाको प्राकृतिक सौन्दर्यताबाट धेरैजसो पर्यटकहरु बेखबर जस्तै हुने गर्छन ।

लुङबुक गुफा पन्ध्रौ सताब्दीमा गुरु रिन्पोर्छे अर्थात पद्यसम्भवले ध्यान साधना गरेको धार्मिक स्थलको रुपमा लिने गरिन्छ । गुरु पद्यसम्भव त्यसबेला तिब्बत जाने क्रममा यहाँ अवस्थित लुङबुक गुफामा बसेर ध्यान साधना गरेको भन्ने धार्मिक किवदन्ती रहेको वारागुङ मुक्तिक्षेत्र—५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो । वडाध्यक्ष गुरुङले पद्यसम्भवले ध्यान साधना गरेको स्थान लुङबुक गुफालाई यहाँको फल्याक र धाकार्रजुङ गाउँका स्थानीयले साझा धार्मिक स्थलको रुपमा लिने गरेको बताउँनुभयो ।


हिउँदयाममा पुरै हिउँको घुम्टो भित्र लुक्ने लुङबुक अवलोकनका लागि पछिल्लो समय पर्यटकहरु त्यहाँ पुग्ने गरेको पाईएको छ । बर्खायाम भन्दा हिउँदयाममा हिउँको बरफले ढाकिएको गुफाको सौन्दर्यता नियाल्न पर्यटकहरु त्यहाँ पुग्ने गरेको पाईएको छ । 

 लुङबुक गुफाको दर्शन गर्ने र हिउँले ढाकिएको गुफाको प्रोफाईल राखेर फोटो खिच्ने उद्देश्यले समेत हिउँदयाममा पर्यटक केही बढी जाने गरेको वडाध्यक्ष गुरुङको भनाई छ । हिउँदयाममा हिउँको बरफले ढाकिने लुङबुक गुफा गर्मीयाममा विस्तारै पग्लिएर सामान्य स्वरुपमा रहने वडाध्यक्ष गुरुङको भनाई छ ।

 लुङबुक गुफा भित्र प्रवेश गर्न सानो चट्टान प्वालबाट मुन्टो निहुराएर मुश्किलले प्रवेश गर्न सकिन्छ । हिउँदयाममा हिउँको बरफ जमेर बस्ने भएकाले गुफा भित्र पस्न सकिंदैन । हिउँको बरफ पग्लिने समय चैत्र÷बैशाखदेखि कार्तिक महिनासम्म गुफा प्रवेश गर्न सकिन्छ ।


स्याङ्जाका पर्यटक नारायण पौडेलले लुङबुक गुफाको दर्शन र हिउँले ढाँकिएको गुफाको प्राकृतिक सौन्दयैताले मोहित तुल्याएको बताउँनुभयो । बुद्ध धर्म र पद्य सम्भवसंग जोडिएको हुनाले गुफाको धार्मिक महत्व अधिक रहेको र यसको प्रचार÷प्रसार गर्न सकेमा पर्यटन प्रर्वद्धनमा थप योगदान पुग्नसक्ने बताउँनुभयो ।

 लुङबुक गुफालाई बुद्ध धर्म अन्तर्गत निङमापा धर्म सम्प्रदायसंग जोडिएको बताईन्छ । गुफामा पुगेर धार्मिक अनुष्ठान गरेमा मोक्ष प्राप्ति हुने भएकाले स्थानीय नागरिकहरुमा ठुलो आस्था र विश्वास रहेको छ । गुफा भित्र आश्चार्यचकित लाग्ने प्राकृतिक रुपले निर्मित धार्मिक सम्पदा जिवन्त छ । गुफा भित्र पद्य सम्भवका स÷साना प्रतिमा देख्न सकिन्छ । सन्तान नभएकाहरुले सन्तान प्राप्तिका लागि गुफा भित्र दर्शन गरेमा सन्तान प्राप्ति हुने धार्मिक जनविश्वास रहेको छ ।


 जोमसोमका स्थानीय पवन गुरुङले लुङबुक गुफा एक पटक दर्शन गर्नै पर्ने धार्मिक गन्तब्य रहेको बताउँनुभयो । सेताम्मे हिउँले ढाकिएको लुङबुक गुफामा पुग्दा गौरान्वित महशुस भएको गुरुङले उल्लेख गर्नुभयो ।


 जोमसोम—कोरला मुख्य राजमार्गदेखि २० मिनेटको सवारी साधनको यात्रा र ४५ मिनेटको पैदल यात्रा गरेपछि लुङबुक गुफा पुग्न सकिन्छ । गुफाको रेखदेख तथा संरक्षणका साथै गुफामा पुग्ने भक्तजनलाई पकाएर खाने र बस्ने समेतको व्यवस्था फल्याक र धाकार्रजुङका गाउँ समाजले गरेको छ । गुफासम्म पुुग्ने गोरेटो बाटो प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले निर्माण गरेको जनाईएको छ ।


प्रतिक्रिया