चराङ—लोमान्थाङ सडकखण्डमा ८ ईञ्च हिउँ, सवारी आवागमनमा समस्या

मंगलबार बिहानैदेखि परेको भारी हिमपातका कारण चराङ—लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ । चराङ—लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको करिव ५ किलोमिटर दुरीको सडक हिमपातका कारण सवारी आवागमनमा कठिनाई उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

 बुधबार परेको भारी हिमपातका कारण उपल्लो मुस्ताङको थुर्लुङ फाँटदेखि लोमान्थाङसम्मको सडकमा  बाक्लो हिउँ जमेका कारण सवारी आवागमनमा समस्या परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक  छिरिङ किप्पा लामाले जानकारी दिनुभयो । उक्त सडकमा ८ ईञ्च सम्म हिउँ जमेकाले लोमान्थाङ आउँजाउ गर्ने सवारी साधनलाई कठिनाई भईरहेको जानकारी दिनुभयो । ‘चराङ—लोमान्थाङ सडकमा बाक्लो हिउँ जमेका कारण सडक असहज भएको सूचना आएको छ, फोर ह्वील सवारी जसोतलो माथिबाट झरेका छन् भन्ने खबर छ , मोटरसाईकललाई भने समस्या छ,’—प्रहरी नायब उपरीक्षक लामाले भन्नुभयो ।’

यसअघि मंगलबार लोमान्थाङ—२ न्हेचुङ स्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बिओपीका सुरक्षाकर्मीहरुले छोसेर—कोरला सडकमा जमेको बाक्लो हिउँ पन्छ्याएका थिए । यसैगरी हिमपातका कारण असहज बनेको कागबेनी—मुक्तिनाथ सडक अहिले सहज रहेको प्रहरी नायब उपरीक्षक लामाले बताउँनुभयो ।

हिमपातसंगै सेताम्मे डाँडाकाँढा 

बुधबार दिनभरको परेको हिमपातका कारण उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्मका डाँडाकाँढा हिउँले चाँदी झै सेताम्मे बनेका छन् । मंगलबार उपल्लो मुस्ताङको घमीदेखि कोरलासम्म र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको थियो । हिमपातका कारण उपल्लो मुस्ताङका डाँडापाखा पुरै हिउँले सेताम्मे भएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । हिउँ परेसंगै चिसो अत्यधिक बढेका कारण स्थानीय जनजिवन प्रभावित भएको कार्यालय प्रमुख पौडेलले उल्लेख गर्नुभयो ।

यसैगरी वारागुङ मुक्तिक्षेत्र—१ अन्तर्गत मुक्तिनाथ,झारकोट,खिङ्गा,छेङ्गुर,झोङ र पुडाक लगायतका गाउँ माथिका उच्चलेंकहरु पुरै हिउँले सेताम्मे भएको वारागुङ—१ वडाध्यक्ष प्रमेश गुरुङले बताउँनुभयो ।

यसैगरी हिमपातका कारण घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाका उच्चलेंकहरु हिउँले सेताम्मे भएको स्थानीय पत्रकार मनिता थकालीले जानकारी दिनुभयो । पत्रकार थकालीका अनुसार मंगलबार समुन्द्री सतहको तीन हजार मिटर माथिको उचाईमा भारी हिमपात भएको बताउँनुभयो । म्याग्दी र तल्लो मुस्ताङमा वर्षासंगै आशिंक हिमपात भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकमा वर्षा र हिमपातले कुनै क्षति नपुगेकालाई सवारी आवागमा सहज रहेको जनाएको छ ।

प्रतिक्रिया