साङ्ता गाउँमा खसेको थियो ७४ प्रतिशत मत

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अघिल्लो दिनसम्म यहाँ स्थित मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—५ स्थित साङ्ता गाउँ मतदाता नहुँदा सुनसान जस्तै थियो । मुस्ताङ र डोल्पाको सिमानामा पर्ने विकट गाउँ साङ्ताका मतदाताहरु हिउँदयामको जाडो छल्न कार्तिक अगावै गाउँ छोडिसकेका थिए । गाउँमा याकचौरी र भेडाच्यांग्रा हेर्ने एकाध गोठाला बाहेक सिंगो गाउँनै रित्तो थियो ।

समून्द्री सतहको झन्डै ४५ मिटरको उचाईको भिरालो स्थानमा अवस्थित साङ्ता गाउँमा १३ घरधुरीका ३९ मतदाता थिए । गत कार्तिक १० गते यहाँको पहिलो हिमपात हुनु अगावै साङ्ता गाउँका मतदाताहरु जाडो छल्न मुस्ताङको फल्याक,धाकार्रजुङ र जोमसोम झरिसकेका थिए । त्यहाँका कतिपय मतदाताहरु पोखरा ÷काठमान्डौ पुगेका थिए ।

 मुस्ताङकै सबैभन्दा कान्छो गाउँको रुपमा परिचत यहाँको साङ्ता गाउँ भौगोलिक रुपले अत्यन्तै विकट स्थानमा पर्छ । त्यहाँका नागरिकहरु सामान्य खेतीपाती र पशुपालन व्यवसायमा मात्रै आश्रित छन् । गाउँमा बालबालिका नहुँदा भएको एक प्राथमिक विद्यालय पनि बन्द भईसकेको थियो । स्वास्थ्यको भरपर्दो सुविधा र स्वास्थ्य चौकी नहुँदा त्यहाँका नागरिकहरुमा कुनै अप्रिय बिरामी हुँदा अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता छ । एक वर्ष अघि मात्रै जेनतेन सौर्यउर्जा मार्फत विद्युत र बिटएस सञ्चारको पहुँच स्थापित भएको छ ।

 मुस्ताङको त्यही गाउँ हो, जहाँ अभाव र अशिक्षाको चरम समस्यामा गुज्रिएको छ । बर्खायामका सामान्यतया ७÷८ महिना खेतीपाती र पशुपालन गरी बस्ने साङ्ता गाउँका नागरिकहरु हिउँदयाम लागेपछि ४÷५ महिना पुरै घरमा ताल्चा मारेर गाउँ छोडेर बाहिरन्छन् ।

 फागुन २१ गते भएको निर्वाचनको एक साता अघिसम्म मुस्ताङ—डोल्पा सडक भारी हिमपातका कारण अवरुद्ध बनेको थियो । मुस्ताङ—डोल्पा सडक अन्तर्गत पर्ने साङ्ता गाउँ सदरमुकाम जोमसोमदेखि करिव ४० किलोमिटर टाढा पर्छ । निर्वाचनको मिति नजिकिंदै थियो । हिउँदयामको प्रतिकूल याममा निर्वाचनको मिति परेको र साङ्ता गाउँ जाने सडक हिउँले अवरुद्ध भएकाले यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले साङ्ता मतदान केन्द्र सार्न लिखित अनुरोध जिल्ला सुरक्षा समितिलाई अनुरोध गरेको थियो । तर, राजनीतिक दलहरुले मतदान केन्द्र सार्ने विषयमा सहमति नहुँदा साङता मतदान केन्द्रनै यथावत रह्यो ।

 सरकारले निर्वाचन गर्नुपर्ने बाध्यता थियो । यसै कारण गाउँ छोडेका साङ्ता गाउँका मतदाताहरुलाई सहज रुपमा मतदान कार्यक्रममा सहभागि गराउनु पर्ने आवश्यकता थियो ।

यसैका खातिर वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले दुई वडा डोजर भाडामा लिएर मुस्ताङ—डोल्पा सडको हिउँ एक साता खर्चिएर पन्छायो । हिउँ पन्छ्याएर सडक खुलाई पनि साङ्ता गाउँका मतदाता तत्काल फर्किएनन् ।

 मतदानको दुईदिन अघि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मुस्ताङका ४० वटै मतदान केन्द्रमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई सम्वन्धित स्थानमा खटायो । मुस्ताङका मतदान केन्द्रहरुमा कर्मचारी खटनपटन भईसकेपछि साङ्ता गाउँको हिमाली आधारभूत मतदान केन्द्रमा खटिएका थिए  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्रमुख राजेश गुप्तासहितको टोली ।

 जोमसोमबाट कार्यालयकै बलेरो जीपमा खाने बस्ने बन्दोवस्तीका सामान लिएर मतदानको दुईदिन अघि साङ्ता गाउँमा पुगे । मतदान कार्यक्रमका लागि मतदान अधिकृत बनेर गएका एक्याप प्रमुख गुप्तासहितको टोली साङ्ता गाउँ पुग्दा गाउँ रित्तो र सुनसान थियो ।

 मतदानका लागि साङ्ता पुगेका कर्मचारी तथा सुरक्षाकर्मी गाउँको समाजघरमा बसे । भोलीपल्ट मतदानको तयारीमा जुटेका थिए । एक्याप प्रमुख गुप्ताले मतदानको अघिल्लोदिनसम्म साङ्ता गाउँमा मतदाताहरु अनुउपस्थित रहेको बताउँनुभयो ।  यद्यपी मतदाताहरु मतदान कार्यक्रममा भाग लिन्छन् भन्ने विश्वाससहित राज्यले सुम्पिएको अभिभार पुरा गर्न आन्तरिक तयारी सबै पुरा गरिसकेका थिए ।

 मतदानको अघिल्लो दिनसम्म मतदाता नहुँदा सुनसान बनेको साङ्ता गाउँ मतदानको दिन भने आशिंक चहल पलह सुरु हुन थाल्यो ।  एक्याप प्रमुख गुप्ताले साङ्ता मतदान केन्द्रमा ३९ जना मतदाता मध्ये २९ जनाले मतदान गरेको बताउँनुभयो । मुस्ताङमा अंक गणितका हिसाबले थोरै मतदाता र कम मतदान भएको भएपनि प्रतिशतका हिसाबले मुस्ताङको ४० मतदान केन्द्र मध्ये सबै भन्दा बढी (७४¬.३५) प्रतिशत मतदान भएको बताउँनुभयो । ‘हामीलाई यतिधेरै मतदाताले मतदान गर्छन भन्ने सोचेका थिएनौं, तर, मतदानका दिन साङ्ता गाउँका मतदाताहरु मतदान गर्न उत्साहजन रुपमा सहभागी भएको पायौं ।’

मुस्ताङका पाँच स्थानीय तहको ४० मतदान केन्द्रमा एघार हजार ३२८ मतदाता हुँदा  छ हजार २९८ अर्थात (५६.४७) प्रतिशत मतदान भएको थियो । निर्वाचनमा १०७ मत बदर भएको थियो ।


प्रतिक्रिया