आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि यहाँका दुई स्थानमा नेपाली सेनाले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरेको छ । जोमसोम स्थित ईन्द्रबक्स गणका अनुसार नेपाल—चिन सिमानासंग जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङ स्थित थुर्लङ फाँट र तल्लो मुस्ताङको घरपझोङ—४ जोमसोम स्थित ईन्द्र बक्स गणमा बुधबारदेखि निवाचन सुरक्षा बेस स्थापना भएको जनाएको छ ।
सरकारले घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष,भयरहित शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल बनाउन देशभर सेना परिचालन गर्ने निर्णय भएअनुसार मुस्ताङमा पनि नेपाली सेनाको निर्वाचन सुरक्षा बेस स्थापना गरिएको जोमसोम स्थित ईन्द्र बक्स गणले बताएको छ ।
निर्वाचन सुरक्षाका लागि स्थापना गरिएको नेपाली सेनाको सुरक्षा बेस क्याम्पबाट मुस्ताङमा २४ घण्टामा दुई पटक सेनाले गस्ती गर्न थालेको छ । यहाँ सेनाले निर्वाचन सुरक्षाको वातावरणलाई कायम राख्न हतियारसहित सेनाको टोलीले मुख्य बजार ग्रामिण गस्ती गर्न थालेको हो । यहाँ सेनाले दिन र रातको समयमा निन्तर निर्वाचन सुरक्षा गस्ती गर्न थालेका हुन् ।
जोमसोम स्थित ईन्द्रबक्स गणका अनुसार माथिल्लो मुस्ताङ क्षेत्रमा लोमान्थाङ स्थित थुर्लङ फाँटमा रहेको निर्वाचन सुरक्षा बेसले र तल्लो क्षेत्रमा ईन्द्रबक्स गण स्थित निर्वाचन क्षेत्रले निर्वाचन सुरक्षा गस्ती गर्ने गरी कार्यक्षेत्र विभाजन गरिएको छ । योसंगै निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि माथिल्लो मुस्ताङ स्थित सैनिक निर्वाचन सुरक्षा बेसले निरन्तर गस्ती गर्न थालेको जनाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपालले पनि माथिल्लो मुस्ताङको चराङमा सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा बेस स्थापना गरिसकेको छ । त्यहा एक जना सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा २४ जना सशस्त्र प्रहरी र बाँकी ११ जना निर्वाचन प्रहरी खटाउने गरी ३५ जना सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा टोली तैनाथ गरिएको छ । यहाँ सशस्त्र प्रहरी बल नेपालले निर्वाचन सुरक्षाका लागि ४६ जना निर्वाचन प्रहरी छनौट गरी तालिम दिईरहेको छ ।
आगामी फागुन २१ गते हुने घोषित प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले २३५ जना प्रहरी र २६६ जना निर्वाचन प्रहरी परिचालन गर्ने जनाएको छ । यहाँका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार जिल्ला भित्र र जिल्ला बाहिरबाट यहाँ छनौट भएका निर्वाचन प्रहरीको २८ माघ सम्म अनुशिक्षण तालिम सञ्चालन हुने र त्यसपछि जिल्ला प्रहरी कार्यालयको मातहतमा रहेका प्रहरी युनिटमा खटाईने जानकारी दिनुभयो । खटिएका प्रहरी सुरक्षाकर्मीले मतदान केन्द्र तथा मतदान स्थलको सुरक्षा र तथा नियमित चेकजाँच र गस्ती गर्ने कार्यलाई तिब्रता दिने जनाएको छ ।
आसन्न निर्वाचनका लागि मुस्ताङका पाँच स्थानीय तहमा गरी ३९ वटा मतदान केन्द्र कायम छन् । मुस्ताङमा पछिल्लो मतदाता नामावली अद्यावधिक हुँदा एघार हजार ३२८ जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुस्ताङमा ८ राजनीतिक पार्टीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली