मुस्ताङमा निर्वाचन प्रहरीका लागि ३२३ जनाको आवेदन प¥यो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि हिमाली जिल्ला मुस्ताङमा निर्वाचन प्रहरीमा भर्ना हुन ३२३ जनाले आवेदन बुझाएका छन् ।हिउँदयामको प्रतिकूल चिसो याममा समेत यहाँ निर्वाचन सुरक्षाका लागि आवश्यक माग गरिएको संख्या भन्दा ११ जना बढीले निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिएका हुन् ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको संयुक्त कार्यविधि २०८२ अनुसार  मुस्ताङमा निर्वाचन प्रहरी छनौट,नियुक्ति तथा परिचालनका लागि योग्यता पुगेका नेपाली नागरिकहरुबाट एकिकृत रुपमा दरखास्त आह्वान गरिएको थियो ।

यहाँको एक मात्रै निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभा निर्वाचनका लागि शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला प्रहरी कार्यालय मुस्ताङमा २६६ जना र सशस्त्र प्रहरी बल नेपाल मुस्ताङलाई ४७ जना निर्वाचन प्रहरीको माग गरिएको थियो । पुस २५ गतेदेखि माघ १ गतेसम्म समयावधि तोकिएको निर्वाचन प्रहरी भर्ना अयियानमा तोकिएको संख्यामा निर्वाचन प्रहरीको भर्ना संख्या अपुग भएपछि गृह मन्त्रालयको अनुमतिमा थप दुई दिन म्याद थप गरिएको थियो ।

यहाँको जिल्ला प्रहरी कार्यालय मुस्ताङले म्याद भएको अन्तिम अवधि शनिबार साँझसम्म २९२ जनाले निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन बुझाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङमा  १९८ जना पुरुष र ९४ जना महिलाले निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन पेश गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो । निरीक्षक बस्यालका अनुसार प्रहरी निकायबाट २६६ जना निर्वाचन प्रहरी माग भएकोमा उक्त संख्यामा अन्तिम अवधिसम्म २६ जना बढीको आवेदन परेको हो ।

यसैगरी यहाँ सशस्त्र प्रहरी बल नेपाल ३३ नं. गुल्म मुस्ताङले ४६ जना निर्वाचन प्रहरी भर्ना गर्न पाउँने गरी दरखास्त आह्वान गरेकोमा  शनिबार साँझसम्म ३१ जनाले निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिनुभयो । सशस्त्र प्रनाउ गिरीका अनुसार आवदेन दिने मध्ये २५ जना पुरुष र ६ जना महिला रहेका छन् ।

मुस्ताङमा प्रहरी र सशस्त्र प्रहरी गरी ३१२ जना निर्वाचन प्रहरी भर्ना गर्न पाउँने गरी आवेदन खुल्ला गरिएकामा तोकिएको अवधि र थपिएको अवधिसम्म  २२३ जना पुरुष र १०० जना महिला गरी ३२३ जनाको आवेदन परेको हो । हिउँदयामको प्रतिकूल याममा समेत मुस्ताङमा यतिठुलो संख्यामा निर्वाचन प्रहरीमा भर्ना हुन युवायुवतीहरुले आवेदन बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जनाउँनुभयो । आवेदन दिनेमा जिल्ला भित्र र जिल्ला बाहिरका व्यक्तिहरु रहेको उहाँको भनाई छ ।

आगामी फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न माग संख्याको आधारमा  निर्वाचन प्रहरी भर्ना गरिने कार्यतालिक सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ । निर्वाचन प्रहरीका लागि आवेदन दिएकाहरुले माघ ४ गते दरखास्त दिएको स्थानमा सम्पर्कमा आउनुपर्नेछ । माघ ५ गतेदेखि ९ गतेसम्म निर्वाचन प्रहरी छनौट प्रक्रिया प्रारम्भ हुने प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउँनुभयो । छनौट प्रक्रियाको अन्तिम नतिजा प्रकाशन माघ १२ गते सार्वजनिक गरिने कार्यतालिका रहेको छ ।निर्वाचन प्रहरीमा आवेदन दिई छनौट भएकाहरुलाई माघ १५ गतेदेखि माघ २४ गतेसम्म तालिम प्रशिक्षण दिईने जनाईएको छ ।

 निर्वाचन प्रहरीमा भर्ना हुनका लागि निर्वाचन कार्यविधि अनुसार १८ वर्ष देखि ५४ वर्ष नघाघेका नेपाली नागरिकहरुलाई दरखास्त आह्वान गरिएको थियो । साधारण लेखपढ गर्न जान्ने,नैतिक पतनदेखि फौजदारी अभियोगमा सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको,शारिरीक तथा मानसिक रुपले स्वस्थ रहेको,आतंककारी एवं विध्वसात्मक संगठनको सदस्य नरहेको र पुरुषको हकमा ५ फिट उचाई र तौल ५० केजी र महिलाको हकमा ४ फिट १० ईञ्च उचाई र ४२ केजी तौल भएको हुनपूर्व सर्त निर्धारण गरिएको थियो ।

यसैगरी निर्वाचन प्रहरीमा भर्ना भई छनौट भएकाहरुको कार्यअवधि ४० दिनको हुने जनाईएको छ । यसरी भर्ना र नियुक्ति भई छनौट भएका निर्वाचन प्रहरीले नियुक्ति पाएको दिनदेखि प्रतिदिन ८६९ रुपैया पारिश्रमिक र निर्वाचन प्रहरीले सेवा पु¥याएको जिल्लाको नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाए सरहको दररेट अनुसारको खाद्यान्न राशन सुविधा वापतको रकम उपलब्ध गराईने छ ।



प्रतिक्रिया