कोरलानाकाबाट भित्रिएको अवैंध सामानहरु बरामद

जोमसोम ।

यहाँ स्थित माथिल्लो मुस्ताङको नेपाल—चिन कोरलानाकाबाट भित्रिएको अवैंध बेवारिसे सामान बरामद गरेको छ । आईतबार अन्दाजी ४ बजेको समयमा लोमान्थाङ—४ छोसेर स्थित न्हेचुमा रहेको मुस्ताङ भन्सार कार्यालय ,सशस्त्र प्रहरी बल नेपाल(बिओपी) र ईलाका प्रहरी कार्यालय छोसेरको संयुक्त संयुक्त गस्तीले करिव एक लाख १७ हजार ६०० बराबरको बेवारिसे अवैंध सामान बरामद गरेको हो ।

लोमान्थाङ स्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका नायब सुब्बा भोजराज अधिकारीको कमाण्डमा तीन जना, सशस्त्र प्रहरी बल नेपाल (बिओपी) न्हेचुङबाट सशस्त्र प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर रानाभाटको कमाण्डमा दश जना र ईलाका प्रहरी कार्यालय छोसेरबाट प्रहरी सहायक निरीक्षक विष्णु रानाभाटको कमाण्डमा चार जना गरी सत्र जनाको संयुक्त गस्तीले कोरलानाकाबाट भित्रिएको अवैंध बेवारिसे सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार कोरलानाकाबाट नेपाल भित्रिएको बेवारिसे सामान  कोरलानाका स्थित संयुक्त गस्ती टोलीले बरामद गरी नियन्त्रणमा लिएको बताउँनुभयो । कोरलानाकाबाट अवैंध रुपमा नेपालतर्फ भित्र्याएका टिस्यु पेपर पाँच हजार ४०० र पाँच हजार ८०० प्याकेट ट्वाईलेट पेपर गरी एघार हजार २०० प्याकेट अवैंध बेवारिसे सामान भन्सारसहितको संयुक्त सुरक्षा गस्ती टोलीले बरामद गरेको प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभयो ।

भन्सार कार्यालयका कर्मचारी तथा सुरक्षाकर्मीले अवैंध रुपमा भित्रिएको बेवारिसे  समानको अन्दाजी मुल्य एक लाख १७ हजार ६०० रुपैया रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । बरामद गरिएको अवैंध बेवारिसे सामानहरु आवश्यक कारवाहीका लागि न्हेचुङ स्थित मुस्ताङ भन्सार कार्यालयमा पठाईएको प्रहरीले जनाएको छ ।

यसअघि गत २७ पुसमा माथिल्लो मुस्ताङ स्थित नेपाल—चिन उत्तरी कोरलानाकामा रोकिराखिएको मालबाहक कन्टेनर खान तलासी गर्दा दुई करोड २४ लाख मूल्य बराबरको अवैंध विद्युतीय चुरोट भेप फेला परी बरामद गरिएको थियो । त्यसबेला अवैंध रुपमा कोरलानाकाबाट नेपाल भित्रिएको कन्टेनर खानतलासी गर्दा ८० कार्टुन अर्थात १६००० थान अवैंध विद्युतीय चुरोट फेला पारी मुस्ताङ भन्सार कार्यालयमा पठाईएको थियो ।

 यसैगरी एक वर्षअघि वि.स. २०८१ साल २० पुस महिनामा चिनबाट कोरलानाका हुँदै लुकाईछिपाई जोमसोमतर्फ ल्याउँदै गरेको अवस्थामा  छ करोड ८१ लाख मूल्य बराबरको अवैंध विद्युतीय चुरोट (भेप) बरामद गरिएको थियो ।

हिउँदयामको मौसममा कोरलानाकाबाट अवैंध रुपमा चारी÷शिकारी र अवैंध क्रियाकलाप हुनसक्ने भएकाले सीमावर्ती क्षेत्रका सुरक्षाकर्मीले निरन्तर सीमा गस्ती गर्ने गरेका छन् । नाकामा अत्यधिक चिसोका कारण सुनसान हुने भएकाले चिनबाट नेपालतर्फ अवैंध मालसामान भित्रिने सम्भावना रहेकाले कोरला सीमाक्षेत्रमा सुरक्षा निगरानीमा कडाई गरिएको छ ।


प्रतिक्रिया