कोरला सिमानाकामा कार्यालय प्रमुखको बैठक

मुस्ताङ, ४, जेठ ।

नेपाल—चीन उत्तरी कोरलानाकामा कार्यालय प्रमुखको बैठक बसेको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको आयोजनामा शनिबार (नेपाल—चिन) उत्तरी कोरलानाकाको अध्यागमन कार्यालयमा जिल्ला स्थित कार्यालय प्रमुखहरुको बैठक बसेको हो ।

जिल्ला स्थित कार्यालयहरुको उपल्लाे मुस्ताङमा सञ्चालित याेजनाहरुकाे अनुगमन, प्रगति समीक्षा, नागरिक सुनुवाइ र गुनासाे सम्बाेधन गर्ने उद्देश्यले कोरलानाकामा कार्यालय प्रमुखहरुको बैठक आयोजना भएको मुस्ताङका प्रजिअ बिष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । कोरलानाकामा जिल्ला स्थित सरकारी कार्यालयका  प्रमुखहरुको सहभागीमा बैठक सम्पन्न भएको हाे ।

पर्यटन प्रर्वद्धन तथा कोरलानाकाकाे थप प्रसारप्रसारमा योगदान पुर्याउने समेत उद्देश्य रहेकाे थियाे । जिल्ला प्रशासन कार्यालय मुस्ताङले नियमित रुपमा महिना महिनामा कार्यालय प्रमुखहरुको बैठक आयोजना गर्ने अभ्यास छ । सधैजसो सदरमुकाम रहेको प्रशासन कार्यालयमा आयोजना हुने बैठक पहिलो पटक सिमाक्षेत्रमा आयोजना गरी सम्पन्न भएको प्रजिअ भुसालको भनाई छ ।

प्रजिअ भुसालको अध्यक्षतामा आयोजित कार्यालय प्रमुखहरुको बैठकमा संघीय तथा प्रादेशिक कार्यालयहरुका प्रमुख एवं स्थानीय तहका प्रमुखहरुले उत्साहजनक रुपमा सहभागिता जनाएका थिए । जोमसोमदेखि १२० किलोमिटरको दुरी तय गर्दै समून्द्री सतहको (४६१०) मिटरको उच्चउचाईको क्षेत्र कोरलानाकामा बैठक आयोजना हुनु ऐतिहासिक भएको प्रजिअ भुसालको भनाई छ ।

यसैगरी शनिबारनै जिल्ला प्रशासन कार्यालय मुस्ताङले उपल्लो मुस्ताङको लोमान्थाङमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । उपल्लो मुस्ताङ स्थित सिमावर्ती क्षेत्रका स्थानीय बासिन्दालाई उनीहरुले प्राप्त गर्ने सेवा प्रवाहमा परेको समस्या र चुनौतीलाई, नागरिकहरुको गुनासो सुन्ने र सम्वन्धित कार्यालयहरुले जवाफ दिने कार्य भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले बताएको छ । 

 सिमानाकामा कार्यालय प्रमुखको बैठक,नागरिक सुनुवाईसंगै उपल्लो मुस्ताङका कार्यालयहरु र कोरला सडकको स्थलगत अनुगमन गरिएको प्रजिअ भुसालको भनाई छ । प्रजिअ भुसालले सिमानाकाबाट सुरु भएको जिल्ला स्थित कार्यालय प्रमुखको बैठक पाँचै वटा स्थानीय तहमा पुगेर नागरिकमा परेका समस्या र गुनासो सुन्ने अभ्यासलाई निरन्तरता दिईने उल्लेख गर्नुभयो ।


प्रतिक्रिया