मुस्ताङको मार्फामा विद्यालय भवन बनाउन भारतीय दुतावासको १४ करोड अनुदान

यहाँको घरपझोङ गाउँपालिका—२ मार्फा स्थित जनवाल माध्यमिक विद्यालयको आवश्यक पूर्वाधार निर्माणका लागि चौध करोड १६ लाख रुपैया भारतीय अनुदान सहयोग प्राप्त हुने भएको छ । भारत सरकारले सामुदायिक विकासका ७ वटा परियोजना कार्यान्वयनमा ल्याउने क्रममा यहाँको घरपझोङ—२ मार्फाको सामुदायिक विद्यालयलाई भवन,छात्रावास लगायतका पूर्वाधार निर्माण गर्न सहयोग उपलब्ध हुने  जनाईएको हो ।

बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदुतावासबीच दुई पक्षिय समझदारी पत्रमा हस्ताक्षर भएको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो । भारतीय दुतावास र संघीय मामिलाबीच भएको समझदारी पञ्चात जतिसक्दो छिटो विद्यालय भवन,छात्रावास लगायतका पूर्वाधार निर्माण गर्न ठेक्का प्रक्रियामा लैजाने योजना रहेको अध्यक्ष लालचनको भनाई छ ।

भारतीय सहयोगबाट विद्यालय भवन परियोजना अघि बढाउनका लागि भारत सरकारकातर्फबाट ९५ प्रतिशत र गाउँपालिकाबाट ५ प्रतिशत लागत साझेदारी हुने अध्यक्ष लालचनले उल्लेख गर्नुभयो ।

भारतीय अनुदान सहयोगको सम्झौतापछि यहाँको मार्फा स्थित जनवाल माध्यमिक विद्यालयको तीन तलाको ४७ कोठे वातावरणमैत्री भवन तथा छात्रावास लगायतका पूर्वाधार निर्माण हुने बताईएको छ । विद्यालय रहेको खेल मैदान लगायतका स्थानमा आधुनिक प्रकारको बालमैत्री तथा अपांगमैत्री विद्यालय पूर्वाधार निर्माण हुने अध्यक्ष लालचन बताउँनुहुन्छ ।

 यहाँ स्थित मार्फाको जनवाल माध्यमिक विद्यालयमा हाल २०० बढी बिद्यार्थी अध्ययनरत छन् । विद्यालयको भवन गतिलो नहुँदा र आवश्यक छात्रावास भवन नहुँदा विद्यार्थीहरुलाई आवास तथा शैक्षिक पठन÷पाठनमा निकै समस्या पर्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सकबहादुर लालचनले बताउँनुभयो । हामीले यहाँको विद्यालयलाई शैक्षिक गुणस्तर तथा व्यवस्थित भौतिक संरचनायुक्त विद्यालयका रुपमा सुविधा सम्पन्न विद्यालय बनाउन चाहेका थियौं, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालचनले भने,‘ भारतीय सहयोग हुने भएपछि हामीले चाहे अनुसारको पूर्वाधार निर्माण गर्ने बाटो खुलेको छ ।’

 यसअघि मुस्ताङमा झन्डै आधा दर्जन बढी सरकारी सामुदायिक विद्यालयहरुको भवन तथा अन्य पूर्वाधार निर्माणमा भारतीय राजदुतावासको आर्थिक अनुदान सहयोग प्राप्त भएको छ । भारतीय दुतावासको आर्थिक सहयोगमा यहाँ स्थित दिव्यदीप माध्यमिक विद्यालय,जनहित माध्यमिक विद्यालय,योगेन्द्र माध्यमिक विद्यालयल ,जनआदर्श माध्यमिक विद्यालय, ज्ञानोदय माध्यमिक विद्यालय र जनशान्ति माध्यमिक विद्यालयको भौतिक पूर्वाधार निर्माण गरिएको थियो ।


प्रतिक्रिया