जोमसोम— मुस्ताङको घरपझोङ गाउँपालिका—५ ठिनी स्थित मुक्ति नमूना आधारभुत स्कुलका बिद्यार्थीहरुलाई अंग्रेजी माध्यमको पाठ्यपुस्तक वितरण गरिएको छ । सरकारी सामुदायिक स्कुलको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित सो स्कुलमा पढेका भूतपूर्व विद्यार्थीहरुको अक्षय कोषबाट आईतबार अंग्रेजी माध्यमको शैक्षिक पाठ्यपुस्तक वितरण गरिएको हो ।
मुक्ति नमूना आधारभुत स्कुल ठिनीमा कक्षा एकदेखि कक्षा ५ सम्मको शैक्षिक पठन÷पाठन सञ्चालनमा छ । यसअघिको बालविकास केन्द्र (ईसीडी) कक्षालाई निजी बिद्यालय सरह नर्सरी र केजी कक्षा सृजना गरी अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने गरी शैक्षिक पाठ्यपुस्तक वितरण गरिएको मुक्ति नमूना आधारभुत स्कुलकी भूतपूर्व विद्यार्थी मञ्चकी अध्यक्ष सरिता थकालीले जानकारी दिनुभयो ।
मुक्ति नमूना स्कुलका भूतपूर्व बिद्यार्थीहरुले आगामी वर्षहरुमा क्रमिक रुपले कक्षा ५ सम्मनै अंग्रेजी माध्यमको शैक्षिक पाठ्यपुस्तक वितरण गर्ने योजना रहेको अध्यक्ष थकालीले बताउँनुभयो ।
गरिव तथा विपन्न परिवारका बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षाको पहुँच स्थापित गरी शैक्षिक गुणस्तर वृद्धि गर्ने गरी घरदैलोमै रहेको सरकारी स्वामित्वको मूक्ति नमूना स्कुलमा पढ्ने नर्सरी र केजी कक्षाका बालबालिकाहरुलाई अंग्रेजी पाठ्यपुस्तक वितरण गरिएको हो । मूक्ति नमूना स्कुलको भूतपूर्व बिद्यार्थी मञ्चले खडा गरेको अक्षय कोषबाट त्यहाँको नर्सरी कक्षामा पढ्ने ११ जना र केजी कक्षामा पढ्ने ४ जना गरी १५ जना बिद्यार्थीलाई अंग्रेजी माध्यमको शैक्षिक पाठ्यपुस्तक वितरण गरिएको भूतपूर्व बिद्यार्थी मञ्चकी अध्यक्ष थकालीले उल्लेख गर्नुभयो ।
यस्तै भूतपूर्व बिद्यार्थी मञ्चको अक्षय कोषको रकमबाट खर्चिने गरी ईसीडी कक्षामा अध्यापन गराउने शिक्षक÷शिक्षिकाका लागि पारिश्रमिकको समेत व्यवस्था गरेको अध्यक्ष थकालीले जानकारी दिनुभयो । सरकारी स्कुलमा पढ्ने बिद्यार्थीहरुलाई अंग्रेजी माध्यमको शैक्षिक पाठ्यपुस्तक वितरण गरिएकोमा बिद्यालयका अभिभावक तथा बिद्यार्थीहरु निकैनै खुसी भएका छन् ।
यसअघि बिद्यालयको स्वर्ण दिवसको अवसरमा सो बिद्यालयमा अध्ययन गरेका भूतपूर्व बिद्यार्थीहरुको भेलाले अ स्कुलको शैक्षिक स्तर वृद्धि गर्दै बिद्यालयको संरक्षण गर्नुपर्ने दायित्व रहेको उल्लेख दश लाख रुपैया भन्दा बढीको अक्षय कोष खडा गरेका थिए । मूक्ति नमूना आधारभुतकी भूतपूर्व बिद्यार्थी मञ्चकी अध्यक्ष सरिता थकालीले आफु पढेको स्कुललाई आशिंक सहयोग गर्ने उद्देश्यले अक्षय कोष खडा गरिएको बताउँनुभयो । उहाँले गुणस्तरीय शिक्षाको अभावमा स्कुलनै संकटमा पर्ने अवस्था नआओस भन्ने आफुहरुले चाहेको जनाउँनुभयो ।
सोही अक्षय कोष रकमले शैक्षिक सत्र २०८२ देखि निरन्तर शैक्षिक गुणस्तर सुधारका लागि अंग्रेजी पाठ्यपुस्तक वितरण गरिएको हो । साथै मूक्ति नमूनाका भूतपूर्व बिद्यार्थीहरुले अक्षय कोष रकमलाई वृद्धि गर्न समेत सम्वन्धित सबैमा अनुरोध गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता