जोमसोम— नेपल—चिन उत्तरी कोरलानाकामा स्थापना भएको अध्यागमन कार्यालयका लागि गृह मन्त्रालय अन्तर्गत अध्यागमन विभागले कर्मचारी खटाएको छ । कार्यालय स्थापना भएको डेढ वर्षपछि विभागले कर्मचारी त्यहाँ पठाएको हो ।
नेपाल सरकार अध्यागमन विभागले विक्रमसम्वत २०८० साल १४ कार्तिकमा मुस्ताङको उत्तरी कोरलानाकामा अध्यागमन कार्यालय स्थापना गरेको थियो । त्यससमय गृहमन्त्री रमेश लेखकले कोरलानाका पुगेर अध्यागन कार्यालयको स्थापना गर्नुभएको थियो ।
विभागले नेपाल—चिन उत्तरी कोरलानाका स्थित अध्यागमन कार्यालय सञ्चालनका लागि ८ जनाको कर्मचारी दरबन्दी सृजना गरेको थियो । एक जना अध्यागमन अधिकृत, दुई जना वरिष्ठ अध्यागमन सहायक,एक जना नायब सुब्बा, एक जना सहलेखापाल, एक जना कम्प्युटर अपेटर, २ जना कार्यालय सहयोगी र एक हलुका सवारी चालकको दरबन्दी सृजना गरिएको थियो ।
कोरला स्थित अध्यागन कार्यालयको कुल ८ जना कर्मचारी दरबन्दी मध्ये ४ जना कर्मचारी दरबन्दी विभागले पदपूर्ती गरेको अध्यागमन अधिकृत जिवन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यागन कार्यालय सञ्चालनका लागि एक जना अध्यागमन अधिकृत र एक जना वरिष्ठ अध्यागमन सहायक विभागले व्यवस्थापन गरी मुस्ताङमा खटाईसकेको अध्यागन अधिकृत पौडेलको भनाई छ । विभागले स्वीकृत दरबन्दी मध्ये एक जना सहायक कम्प्युटर अपरेटर र एक जना कार्यालय सहयोगी यसअघिनै व्यवस्था गरिसकेको अध्यागमन अधिकृत पौडेलले उल्लेख गर्नुभयो ।
उहाँका अनुसार एक जना वरिष्ठ अध्यागमन सहायक र एक जना अध्यागमन सहायकका लागि लोक सेवा आयोग मार्फत पदपूर्ती गर्नेगरी विभागले तयारी थालेको छ । कुल दरबन्दी मध्ये एक जना सहलेखापाल र एक जना हलुका सवारी चालकको दरबन्दी पदपूर्ती हुँन बाँकीनै रहेको कोरला अध्यागमन अधिकृत पौडेलले बताउँनुभयो ।
गृह मन्त्रालय अन्तर्गत अध्यागन विभागले मुस्ताङमा कर्मचारीको आशिंक व्यवस्थापन गरेपनि कोरला स्थित अध्यागमन कार्यालयको सेवा प्रवाहमा केही समय लाग्ने अध्यागमन अधिकृत जिवन पौडेलले जनाउँनुभयो । ‘हामीलाई विभागले अध्यागमन कार्यालयको काम गर्नु भनेर खटाईसकेको छ, यहाँ कार्यालय व्यवस्थापन र कर्मचारी आवास तथा अन्य आवश्यक सामाग्रीहरुको व्यवस्थापनकार्यमा जुटिरहेका छौं’, अध्यागमन अधिकृत पौडेलले भने,‘ कार्यालय संञ्चालनका लागि बग्रेल्ती समस्या र चुनौतीहरु छन् । यहाँका समस्याहरु विभाग मार्फत पुरा हुने अपेक्षा हामीले गरेका छौं ।’ यहाँको व्यवस्थापन पुरा हुँने बित्तिकै विभागसंग समन्वय गरी सेवा प्रवाह सुरु गर्ने बताउँनुभयो ।
समून्द्री सतहदेखि ४६१० मिटरको अग्लो स्थानमा अवस्थित नेपाल—चिन कोरलानाकामा अध्यागमन कार्यालयसंगै भन्सार, सुरक्षा पोस्ट लगायतको वातावरणमैत्री भौतिक पूर्वाधार निर्माणको आवश्यक छ । तर, सरकारले गण्डकी प्रदेश सरकारले निर्माण गरेको अस्थायी प्रिफाईप कन्टेनर पूर्वाधारमा अध्यागमन कार्यालय स्थापना गरिएको छ ।
कोरलाको प्रतिकुल मौसम र सो स्थानमा अध्यागमनका कर्मचारी बाह्रै महिना त्यहाँ रहेर सेवा सञ्चालन गर्नुपर्ने निकै ठुलो चुनौती रहेको छ । सरकारले छिटोभन्दा छिटो कोरलानाकाको दशगजा क्षेत्रमा अध्यागमन कार्यालयसंगै आवश्यक भौतिक संरचना निर्माण गर्नुपर्ने लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो । कोरलानाकाबाट छोटो दुरीमा सजिलै कैलाश मानसरोवरको यात्रा तय गर्न सकिने भएकाले अध्यागन कार्यालय र भन्सार पूर्वाधार व्यवस्थापन गर्न सरकारले अग्रसरता देखाउनुपर्ने अध्यक्ष बिष्टको भनाई छ । अध्यक्ष बिष्टले कोरलानाकाबाट चिनको सिगात्से प्रान्तको ढोङ्वासेनसम्मको दुरी ५८ किलोमिटर रहेको र त्यहाँबाट ५८० किलोमिटर दुरीमा कैलाश मानसरोवर पुग्न सकिने बताउँनुभयो ।
कोरला स्थित अध्यागन कार्यालयको सेवा सञ्चालन भएपछि चिनबाट नेपाल आउने विदेशी पर्यटकलाई १५० दिनको अन अराईभल प्रदान गर्न सकिने अध्यागमन अधिकृत जिवन पौडेलले बताउँनुभयो । यसैगरी चाईना दुताबासबाट भिसा प्राप्त गरेका नेपाली तथा अन्य मुलुकका पर्यटकलाई प्रस्थान अनुमति पत्र प्रदान गरिने उहाँले जनाउँनुभयो ।
यसैगरी जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट प्रस्थान अनुमति पत्र (सीमापार पास) लिएका मुस्ताङका नागरिकहरुको ईन्ट्रि र एक्जिट गर्ने काम अध्यागमन कार्यालयले गर्ने अध्यागमन अधिकृत पौडेलले उल्लेख गर्नुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली