फोहोरमैला व्यवस्थापनमा नमूना बन्दै जोमसोमका महिला (फोटो फिचर)

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजारमा शनिबार बृहत सरसफाई तथा फोहोरमैला व्यवस्थापन अभियानको थालनी गरिएको छ । फोहोरमैला व्यवस्थापन तथा पूर्ण सरसफाईका लागि सामाजिक जनचेतना अभिवृद्धी गर्ने उद्देश्यले सदरमुकाम जोमसोमका महिला संघसंस्थाहरुले सामुहिक रुपमा एक्येवद्धता जनाएका हुन् ।


यहाँको घरपझोङ गाउँपालिका—४ जोमसोम स्थित काठेपुल नजिकबाट बृहत सरसफाई तथा फोहोरमैला व्यवस्थापन अभियान शुभारम्भ गरिएको हो । मिलिजुली टोल विकास संस्था जोमसोमको आयोजना तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र प्रदेश स्वास्थ्य कार्यालय मुस्ताङको समन्वय र सहकार्यमा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । अभियानको घरपझोङ गाउँपालिकाका वडाध्यक्ष यमप्रसाद थकालीले उद्घाटन गर्नुभएको थियो ।


बृहत सरसफाई कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष यमप्रसाद थकालीले मुस्ताङको प्राकृतिक सौन्दर्यता जोगाउन सरसफाई तथा फोहोरमैला व्यवस्थापन कार्यक्रम प्रभावकारी हुने विश्वाश व्यक्त गर्नुभयो । सवारी साधनको धुवा,धुलो र ,पर्यटक तथा व्यापारिक प्रतिष्ठानहरुबाट निस्कने फोहोरमैलालाई व्यवस्थापन गर्न अपरिहार्य भएकाले यसप्रकारको कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने वडाध्यक्ष थकालीले बताउँनुभयो । जोमसोम बजारको सौन्दर्यता जोगाउन, बजार क्षेत्र र कालिगण्डकी तटीय क्षेत्रलाई प्रदुषण मुक्त तुल्याउन गाउँपालिकाले बृहत प्रकारको फोहोरमैला संकलन केन्द्र स्थापना गर्ने तयारी गरेको जानकारी दिनुभयो ।


जोमसोम बजार क्षेत्र, सडक,पुलपुलेसा र कालिगण्डकी नदीक्षेत्रमा बृहत सरसफाई गरिएको हो । जोमसोम बजारको पक्की पुलदेखि नेपाली सेनाको ब्यारेक अगाडी सम्मको करिव २ किलोमिटर दुरीको क्षेत्रमा बृहत सरसफाई गरिएको मिलिजुली टोल विकास संस्थाका अध्यक्ष प्रमिला थकालीले जानकारी दिनुभयो । सरसफाई अभियानमा स्थानीय महिला संघसंस्था,स्थानीय नागरिक,गाउँसमाज,पर्यटन व्यवसायी,जनप्रतिनिधि,सरकारी कार्यालय र सुरक्षा निकाय लगायत ५०० बढीको सहभागिता रहेको अध्यक्ष थकालीले उल्लेख गर्नुभयो ।


 मुस्ताङमा बढ्दै गईरहेको फोहोरमैला व्यवस्थापनको चुनौतिलाई समाधान गर्न गरिएको जनचेतनामूलक बृहत सरसरफाई कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेको जोमसोम गाउँसमाजका मुखिया जयन्द्रलाल थकालीले बताउँनुभयो । बढ्दो फोहोरमैलाले मानव स्वाथ्यमा प्रतिकूल असर पु¥याउने,प्रदुषणका कारण वातावरणीय सन्तुलनमा ह्रास आउने उल्लेख गदै यसप्रकारको सरसफाई अभियानलाई निरन्तरता दिईरहनु पर्ने अध्यक्ष थकाली बताउँनुहुन्छ ।


 पछिल्लो समय अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले मुस्ताङका पाँचै पालिकामा संकलन भएको फोहोरलाई समुचित व्यवस्थापन गर्न कार्यक्रम संञ्चालन भईरहेको छ । एक्याप प्रमुख राजेश गुप्ताले गत वर्ष मुस्ताङमा संकलन भएको १० टन फोहोर पोखरा स्थित ग्रिन रोड प्रा.लि.को प्रशोधन केन्द्रमा निकासी गरिएको जानकारी दिनुभयो । प्रमुख गुप्ताले सरसफाई तथा वातावरणीय स्वच्छता कायम राख्न एक्यापले समुदायहरुसंग मिलेर कार्य गरिरहेको बताउँनुभयो । एक्यापले चालु आर्थिक वर्षको ८ महिनामा ६ टन संकलित फोहोर पोखरा निकासी गरिसकेको प्रमुख गुप्तको भनाई छ ।


मुस्ताङमा वातावरणी स्वच्छतालाई कायम राख्न तथा जोमसोम बजारलाई प्रदुषण मुक्त तुल्याउन समयसापेक्षिक रुपमा नियमित सरसफाईका कार्यक्रम भएपनि पहिलो पटक यसप्रकारको बृहत सरसफाई पहिलो पटक आयोजना गरिएको हो । स्थानीय सरोकारवालाहरुसंगको समन्वय र सहकार्यमा सदरमुकाम जोमसोममा संकलित जैविक तथा अजैविक फोहोरको तीन तहमा बर्गीकरण गरी व्यवस्थापन गर्न थालिएको छ । यसप्रकारका सरसफाई अभियानले जलवायु संकटलाई न्यूनिकरण गराउनुका साथै यसले जैविक विविधता,प्राकृतिक सम्पदाको संरक्षण र मुकामको प्राकृतिक सौन्दर्यतालाई जिवन्त राख्न योगदान पु¥याउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया