मुस्ताङका कृषकलाई हिउँदे बाली लगाउने चटारो

यहाँको तीन पालिकामा कृषकलाई हिउँदे बाली लगाउन चटारो चलेको छ । जिल्लाको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिका अन्तर्गतका कृषकहरुलाई हिउँदे खाद्य बाली उवा र जौ लगाउन व्यस्त देखिएका छन् ।

यहाँको मध्य मुस्ताङ र तल्लो मुस्ताङमा दुई बाली खेती गरिन्छ । माथिल्लो मुस्ताङका कृषकहरुले बर्सेनि एक बाली मात्रै खेती गर्ने परम्परा रहेको छ । यहाँको तीन पालिकामा फापर बाली,मकै र आलु लगायतका बर्खेबाली थन्क्याएपछि यहाँका कृषकहरुलाई हिउँदे बालीका लागि उवा र जौ बालीको खेती गर्ने प्रचलन रहेको छ ।

यहाँका कतिपय कृषकहरु बर्सेनि एक बाली मात्रै खेती गरेको पाईन्छ । यहाँ एक बाली मात्रै खेती गर्ने कृषकहरुले जेठ र असार महिनामा बर्खेबाली फापर,मकै,सिमी र आलु खेती गर्नका लागि बाँझो जग्गालाई सिचाई गरी आवश्यक खनजोत गरी बाँझो पल्टाएर तयारी अवस्थामा राख्छन् ।

त्यसो मुस्ताङमा खेतीयोग्य जमिन कम  भएको र अधिकाँश खेतीयोग्य जमिनमा स्याउ खेती विस्तार भएकाले यहाँका कृषकहरुले स्याउ बगैचा भित्र अन्तरबालीका रुपमा उवा,जौ,मकै,आलु र फाँपर लगायतका खेती गर्ने प्रचलन रहेको छ ।

 मुस्ताङका कृषकहरु यतिबेला हिउँदे बालीका उवा र जौ बाली लगाउन व्यस्त रहेको घरपझोङ गाउँपालिकाका कृषक राजेन्द्र शेरचनले जानकारी दिनुभयो । हिउँदेबालीका लागि सिंचाईको व्यवस्था गर्ने, बाँझो जग्गालाई गोरु ÷झोपा र पावर ट्रेलरको प्रविधिको सहयोगमा खेतबारी  खनजोत गर्नेकार्य भईरहेको कृषक शेरचनको भनाई छ ।

 जोमसोमका कृषक शेरचनका अनुसार मंसिरमा खेतबारीमा लगाईएको हिउँदे खाद्य बाली उजा र जौ औसत दुई सय दिन अर्थात छ महिनामा उत्पादन हुने भएकाले जेठ र असार महिनामा उवा र जौ भित्र्याउने प्रचलन रहेको जानकारी दिनुभयो ।

हिमाली क्षेत्रमा उत्पादन हुने संदिंयौ वर्ष पुरानो उवा र जौ खेती यहाँको रैथाने बाली हो ।समुन्द्री सतहको एक हजार ९८४ मिटरको उचाईदेखि चार हजार मिटरको उचाई सम्म उवा र जौ खेतीको उत्पादन हुन्छ । यहाँको तल्लो मुस्ताङ अन्तर्गत वारागुङ,घरपझोङ र थासाङ गाउँपालिकामा  मंसिरमा खेतबारीमा उवा र जौ छरेर असारमा थन्क्याउने गरिन्छ । यसैगरी माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्डमा चैत÷बैशाखमा उवा र जौ छरेर असोज महिनामा भित्र्याउने प्रचलन रहेको छ ।

मुस्ताङका किसानले उवा र जौ बालीलाई घरायसी प्रयोजनमा मात्रै खेती गर्ने प्रचलन रहेको घरपझोङका अर्का किसान अजित थकालीले बताउँनुभयो । स्याउ र आलुको ब्यवसायिक खेती गरिने भएपनि परम्परागत रैथानेबालीहरु धार्मिक पुजाआजा,घरेलु मदिरा उत्पादन र घरायसी प्रयोजनमा उपयोग हुँदै आईरहेको किसान थकालीको भनाई छ । यहाँ मुस्ताङीले उवा र जौ भुटेर सातु बनाएर खाने प्रचलन रहेको छ । पछिल्लो समय ठिनी थकाली सामुदायिक होमस्टेमा यहाँको रैथाने बाली उवा,जौ र फापरको विविधिकरण गरी विभिन्न परिकार निर्माण गर्ने क्रम सुरु भईसकेको छ ।

यहाँका परम्परागत उवा र जौ पोशिलो,स्वादिलो र स्वास्थ्यवद्र्धक खाद्य बालीको रुपमा स्थापित भईरहेको छ । यहाँको रैथाने बाली उवा र जौ झट्ट हेदा गहु जस्तै खाद्य बाली हो । अन्य खेतीको तुलनामा उवा र जौ खेती परम्परागत रुपमा झन्झटिलो हुने भएकाले कतिपय कृषकहरुले उवा र जौ खेती पछ्याउन छाडिसकेका छन् । मुस्ताङमा करिव एक सय ५० हेक्टर क्षेत्रफलमा उवा र जौ खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्र कार्यालय मुस्ताङको तथ्यांकमा उल्लेख छ ।


प्रतिक्रिया