मुस्ताङका प्रजिअ पन्तसहितको टोलीले ग¥यो ढुम्बातालको सरसफाई

जोमसोम

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त शुक्रबार बिहान ढुम्बाताल सरसफाई कार्यमा जुटे । प्रजिअ पन्तले आफुसंगै नेपाल प्रहरी, नेपाली सेना ,अनुसन्धान कार्यालयका सुरक्षाकर्मीसहित कर्मचारी मिलन केन्द्र लगायतको समन्वयमा ढुम्बाताल सरसफाई कार्यमा जुटेका हुन् ।

घरपझोङ गाउँपालिकामा अवस्थित ढुम्बाताललाई स्वच्छ,सफा ,सुन्दर र वातावरणमैत्री तुल्याउन सकेमात्र त्यहाँ पुग्ने पर्यटकले ताल र ताल वरिपरीका दृष्य अवलोकन गरेर आनन्द लिनेसक्ने भएकाले प्रमुख जिल्ला अधिकारी पन्तकै पहलमा ढुम्बाताल सरसफाई गरिएको मुस्ताङका प्रनाउ भोजराज पाण्डेयले जानकारी दिए ।

 प्रजिअको नेतृत्वमा जिल्ला स्थित ४ वटै सुरक्षा निकाय र कर्मचारी मिलक केन्द्रका पदाधिकारी टोलीले पर्यटकीय गन्तब्य ढुम्बातालको पूर्व सरसफाई गरेको प्रनाउ पाण्डेयको भनाई छ । ताल सरसफाईमा ढुम्बा पुगेको प्रजिअ पन्तसहितको टोलीले त्यहा पर्यटकले मिल्काएका छरपष्ट फोहोरहरुको व्यवस्थापन गरेको हो । सुरक्षा निकायसंग रहेको घरेलु औजारसहित ताल सरसफाईमा पुगेको टोलीले कुहिने र नकुहिने फोहोरलाई एकिन गरी व्यवस्थापन गरेको हो ।ताल छेउ अनाधिकृत पलाएका घाँसहरु समेत काँटेर सफा बनाईएको छ ।

 मुस्ताङका प्रमुख जिल्ला अधिकारी पन्तले प्रशासनिक तथा कार्यालयको कामकाँजमा मात्रै कर्मचारी सीमित हुन्छन् भन्ने सोंचलाई उदाहरणीय रुपमा प्रस्तुत गर्दै सुरक्षा र कर्मचारीको टोलीले सामाजिक उत्तरदायित्व बहन गर्दै ढुम्बातालको पूर्ण सरसफाई गरिएको बताए । प्रजिअ पन्तले प्राकृतिक सौन्दर्यताले भरिएको ढुम्बताल पर्यटकका लागि निकै आर्कषक स्थान रहेकाले यहाँको पर्यटन प्रर्वद्धनमा तालको संरक्षण,संम्वद्धन र विकासमा जोड दिनु पर्ने उल्लेख गरे ।

पछिल्लो समय निकै चर्चाको शिखरमा चुलिदै गईरहेको मुस्ताङको पर्यटकीय गन्तब्य हो ढुम्बाताल । यो ताल मुस्ताङको घरपझोङ—५ ढुम्बा अवस्थित छ । समून्द्री सतहको २८ सय मिटरको अग्लो उचाईमा अवस्थित पर्यटकीय गन्तब्य ढुम्बाताल धार्मिक तथा ऐतिहाँसिक दृष्टिकोण समेत निकै प्रसिद्ध छ ।

 मुक्तिनाथ दर्शन,कागबेनीधाममा पुजाअर्चना र उपल्लो मुस्ताङको कोरलानाकासम्म पुगेर फर्किएका पर्यटक ढुम्बाताल अवलोकन गर्न पुग्ने गरेका छन् । ढुम्बातालमा बर्सेनि सयौं आन्तरिक तथा बाह्य पर्यटक ढुम्बातालको अवलोकन गर्ने  र त्यहा तालको प्रोफाईल दृष्यमा कैंद गरी फोटो खिच्न लालायित हुने गर्छन ।

निलगिरि हिमालको काखैमा भिरालो सतहको खाल्डोमा अवस्थित छ ढुम्बाताल । निलो रंगको तालमा निलगिरि र धौलागिरि हिमालको बिम्व प्रतिस्थापन हुँदा तालको सौन्दर्यता झनै मोहित देखिन्छ । ढुम्बाताल कुछ्प तेरङ्गा गुम्बा व्यवस्थापन समितिको स्वामित्वमा छ । धार्मिक तथा ऐतिहाँसिक महत्व बोकेको ढुम्बातालको जल गुम्बामा चढाईने गरिन्छ । ढुम्बातालमा माछाका भुराहरु छोड्ने गरिन्छ । तालमा माछा मार्न पाईदैन ।

गुम्बाको स्वामित्वमा रहेपनि पछिल्लो समयमा ढुम्बातालको थप पूर्वाधार विकासमा संघीय ,प्रदेश ,स्थानीय तह र एक्याप लगायतका कार्यालयहरुले योगदान गर्दैआईरहेका छन् । ताल वरिपरी रेलिङसहितको सिढिं बाटो ,विश्राम स्थल,सूचना बोर्ड बाल उद्यानको व्यवस्था गरिएको छ । गण्डकी प्रदेश सरकारबाट निर्माणधिन रिङरोड सडकले समेत जोडिएका ताल भएको ठाउँमा पुग्न यातायातको पहुँच सहज छ । ताल अवलोकन गर्न जाने पर्यटकले त्यहाँ सीमित शुल्क तिरेपछि मात्र ढुम्बातालको कम्पाण्ड भित्र प्रवेश गर्न अनुमती दिईन्छ ।

 पर्यटकीय गन्तब्य ढुम्बातालबाट निलगिरि हिमाल ,धौलागिरि हिमाल,मानापाथी हिमाल, जामसोम आसपासका बस्तीहरु र कालिगण्डकी तटीय क्षेत्र निकै सुन्दर र लोभलाग्दा देखिन्छन् । ढुम्बातालमा स्वदेश तथा विदेशी चलचित्र,म्यूजिक भिडियो र डकुमेन्ट्री छायाँकन भईरहने भएकाले मुस्ताङ भ्रमण गर्न पर्यटकका लागि ढुम्बाताल आर्कषक पर्यटकीय गन्तब्य बनेको हो ।

ढुम्बातालमा नेपाली चलचित्र जेरी,चिनो,छिरिङ,प्रेमगीत जस्ता दर्जनौ चलचित्र छायाँकन भईसकेकाले पनि यसको चर्चा चुलिएको ठिनीका स्थानीय युवा निरज थकालीले जानकारी दिए ।


फोटो क्याप्सन ः ढुम्बाताल सरसफाईमा जुटे सिडियो । तस्विर ःजिप्रका मुस्ताङ


प्रतिक्रिया