परम्परागत बौद्ध शिक्षालाई राज्यको मुलधारमा ल्याउन पहल सुरु


जोमसोम—परम्परागत रुपमा गुम्बा बिद्यालयमा पठन÷पाठन हुने बौद्ध शिक्षालाई राज्यको मुलधारमा ल्याउन लुम्बिनी विश्व बिद्यालयले पहल थालेको छ । यसै प्रयोजनका लागि लुम्बिनी विश्व विद्यालयको एक अध्ययन टोलीले आईतबार जोमसोममा सरोकारवाला निकायसंग छलफल तथा अन्तरक्रिया गरेको छ । मुस्ताङका बौद्ध सम्पदा संस्कृतिको पर्यटन प्रर्वद्धन तथा परम्परागत रुपमा चलेको बौद्ध शिक्षालाई  आधुनिक शिक्षाका रुपमा राज्यको मुलधारमा ल्याउनुपर्ने आवश्यकता महशुस गर्दै लुम्बिनी विश्वविद्यालयको एक अध्ययन टोली मुस्ताङ आईपुगेको हो ।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र पूर्व प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. श्रीकान्त खतिवडासहित लम्बिनी विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्य र विश्व विद्यालयका प्रोफेसर ङिमा शेर्मा लगायतको टोली मुस्ताङ आएको हो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङमा आयोजित छलफल तथा अन्तरक्रियामा लुम्बिनी विद्यालयले हिमालसंग कनेक्टिभिटी जोडन पहल भएको बताईएको छ । बौद्ध धर्म संस्कृति र यसको व्यवहारिक अभ्यास हिमाली क्षेत्रमा हुने गरेकाले त्यसलाई लुम्बिनी विश्व विद्यालयसंग जोड्न प्रारम्भिक पहल भएको लुम्बिनी विश्व विद्यालयका रजिष्ट्रार तिलक आचार्यले अन्तरक्रियामा जानकारी दिए । लुम्बिनी विश्व विद्यालयले नेपालमा बौद्ध धर्म,शिक्षा, दर्शन,संस्कृति,साहित्य विषयलाई  उच्च तहको आधुनिक ढाँचाबाट अध्ययन÷अध्यापन गर्दै आईरहेको र त्यसलाई थप बृहत बनाउने उद्देश्यले हिमाली क्षेत्रका गुम्बा र गुम्बा स्कुलमा हुने परम्पराग बौद्ध शिक्षालाई लुम्बिनी बौद्ध विश्वविद्यालयसंग जोड्न् प्रारम्भिक अध्ययन गरिएको हो ।

 विश्वका बुद्ध धर्ममा आस्था राख्ने १६ वटा देश सहभागी रहेको लुम्बिनी बौद्ध सम्मेलनबाट विश्वविद्यालयको अवधारण आएको र त्यसपछि राज्यबाट सम्वन्ध प्राप्त भएको विश्वविद्यालयका रजिष्ट्रार  आचार्यको भनाई छ । परम्परागत बौद्ध शिक्षाबाट आफ्नै प्रकारले डिग्री हासिल गरेर पढ्ने प्रचलन भएको र त्यसरी पढ्दा राज्यको बैधानिक शिक्षाको रुपमा ग्रहण गर्दा गुम्बा स्कुलका विद्याथीहरुलाई समस्या पर्ने गरेको उनले सुनाए ।

 विश्व विद्यालयले हिमाली क्षेममा गुम्बा स्कुलमा पढेका विद्यार्थीलाई मुलधार ल्याएर विश्वविद्यालयले उच्च तहको अध्ययनको ढोका खोल्ने मार्गप्रसस्त गर्न गृहकार्य भईरहेको बताईएको छ । लुम्बिनी विश्व विद्यालयले हालसम्म परम्परागत बौद्ध शिक्षा पढेका ५ दर्जन बढी विद्यार्थीलाई उच्च तहको शिक्षाका लागि विश्वविद्यालयमा भर्ना गरिएको रजिष्ट्रार आचार्यले खुलाए । विश्व विद्यालयले बुद्धको दर्शन र सस्कृति र परम्परालाई अप्लाईको रुपमा आधुनिक शिक्षा प्रणालीमा समायोजन गरेर लैजाने विश्वविद्यालयको उद्देश्य रहेको उनले बताए ।

 गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले आफुले शिक्षालाई जहिल्यै उच्चप्राथमिकतामा राखेर काम गर्ने गरेको दावी गरे । उनले मुस्ताङमा बौद्ध कलेज खोल्न स्थानीय स्तरमा लुम्बिनी विश्वविद्यालयसंग कानुनी प्रक्रिया पुरा भएमा त्यसको व्यवस्थापनको जिम्मा आफुले लिने उद्घोष गरे । पूर्व मुख्यमन्त्री अधिकारीले लुम्बिनीले सम्वन्धन नदिएमा गण्डकी विश्व विद्यालयबाटै भएपनि यहाँ कलेज स्थापना गर्न सम्वन्धन दिलाएर छोड्ने प्रतिवद्धता जनाए ।

 विश्व विद्यालयले बौद्ध शिक्षालाई राज्यको मुलधार ल्याउन मात्रै नभई हिमाली क्षेत्रमा अवस्थित प्राचिन गुम्बा ,मठ मन्दिर ,छोर्तेन र स्तुपहरुको महत्व र बुद्ध दर्शनको बारेमा उजागर गरी धार्मिक पर्यटन प्रर्वद्धनका लागि समेत जोड दिएको अन्तक्रियामा बताइएको छ । कार्यक्रममा जिल्लाका विभिन्न सरोकारवाला निकायहरुले जिल्लाको बौद्ध धर्म,ईतिहाँस, कलासंस्कृति र परम्परा लगायतका बिषयमा विश्व विद्यालयको टोलीलाई जानकारी गराएको थियो ।

विश्व विद्यालयको टोली सोमबारदेखि उपल्लो मुस्ताङका विभिन्न स्थानमा रहेका बौद्ध धार्मिक सम्पदाको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको विश्व विद्यालयका प्रोफेसर ङिमा शेर्पाले जानकारी दिए ।


प्रतिक्रिया