अब तल्लो मुस्ताङीलाई पनि सीमापार पास

 जोमसोम—मुस्ताङका ५ वटै स्थानीय तहका नागरिकले उत्तरी कोरलानाका हुँदै चीन जाने प्रस्थान अनुमतीपत्र सीमापार पास पाउने पक्का भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङद्वारा बिहिबार आयोजित जिल्ला स्थित राजनीतिक पार्टीहरुसंगको  छलफल तथा अन्तरक्रियामा यस्तो जानकारी दिईएको हो ।

यसअघि उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको उपल्लो मुस्ताङका दुई पालिकाका नागरिकलाई मात्रै चीन जाने प्रस्थान अनुमती पत्र सीमापार वितरण गरिएको थियो । जिल्ला प्रशासन कार्यालय मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका गरी चैत्र मसान्तसम्म १५२० जनालाई सीमापार पास वितरण गरेको थियो ।

जिल्लाका राजनीतिक पार्टीहरुसंगको छलफलमा मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनराज पन्तले उपल्लो मुस्ताङको दुई पालिकालाई चीन जाने प्रस्थान अनुमती पत्र (पास) वितरण हुदै आईरहेकोमा चालु आर्थिक वर्षको अन्तिम वा आगामी आर्थिक वर्षको सुरुवाती चरणबाटै जिल्लाका ५ वटै पालिकाका नागरिकलाई पास वितरण गर्ने गृहकार्य भईरहेको जानकारी दिए । उनले प्रस्थान अनुमतीपत्रका आधारमा अब मुस्ताङका सबै नागरिकलाई सीमापार पास उपलब्ध गराउने तयारी भईरहेको भएको जनाए ।

मुस्ताङका ५ वटै पालिकालाई चीनको स्वशासित क्षेत्र लिजीमा पुगेर मालसामान किनेर ल्याउने सहजताका  लागि सीमापार वितरणको आवश्यक प्रक्रिया अघि बढिसकेको प्रजिअ पन्तको भनाई छ ।


कोरना कहरले लगातार ४ वर्षसम्म पुरै बन्द अवस्थामा रहेको मुस्ताङको उत्तरी कोरलानाका प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को चिन भ्रमणपछि गत कार्तिक २७ गते खुल्ला भएको थियो । कोरलानाका खुल्ला गर्न स्थानीय प्रशासनसंगै संघ तथा प्रदेशका बर्तमान तथा पूर्व सासदहरु,स्थानीय तहका जनप्रतिनिधि,कर्मचारी र सरोकारवालाहरुले पहल गरेका थिए ।

नाका खुल्ला गर्न चीन पक्षले औपचारिक कार्यक्रम राखेर आतिसबाजी गरेर तामझामका साथ नाका खुल्ला गरेको उद्घोष गरिएको थियो । त्यससमय पनि चीन पक्षले तत्कालका लागि उपल्लो मुस्ताङका सीमावर्ती दुई गाउँपालिकालाई मात्रै पास वितरण गर्ने र त्यसपछि क्रमशः मुस्ताङका सबै नागरिकलाई सीमापार पास वितरण गर्दा फरक नपर्ने जनाउ दिएको थियो ।

 कोरलानाकामा जिल्लाका ५ वटै स्थानीय तहका नागरिकले चीन जाने प्रस्थान अनुमती पाउने भएपछि कोरलाको तिब्बती भूमीमा ब्यापारिक चहलपहल वृद्धि हुने अपेक्षा गरिएको छ । हाल उपल्लो मुस्ताङका नागरिकले मात्रै पास पाएका कारण नाकामा खासै व्यापारिक चहलपहल देखिदैन । तर, सरकारले कोरलानाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण गरी छिटो भन्दा छिटो कोरलानाका सबैका लागि खुल्ला गरिनुपर्ने एमाले मुस्ताङका सचिव तिलक बिकको धारणा  छ ।

उत्तरी कोरलानाका खुल्ला भएसंगै सीमावर्ती क्षेत्रको नेचुङ भन्सार कार्यालय आशिंक रुपमा चलायमान हुन थालेको छ । उपल्लो मुस्ताङी नागरिकले चिनको लिजी हाटबजार पुगेर दैनिक उपभोग्य वस्तु आयात गर्न सहज भईसकेको छ । उपल्लो मुस्ताङी नागरिकले चीनको लिजी पुगेर खाद्यान्न,किराना सामान,कस्मेटिक सामान लगायतका सामग्री आयात गर्ने गरेका छन । नेपाल पक्षबाट उपल्लो मुस्ताङले स्थानीय उत्पादनका साथै नेपालमा पाईने सामान,भेडाच्यांग्रा र यार्सा गुम्बा जटीबुटी लगायतको निर्यात गर्ने गरेका छन् ।

कोभिड अघि बर्सेनि असार र भदौ महिनामा उपल्लो मुस्ताङीलाई लक्षित गरी  चीन पक्षले अन्तरदेशीय ब्यापार मेला संञ्चालन गर्ने गथ्र्यो । तर, यसपटक भने चीन पक्षले जिल्ला प्रशासन कार्यालयले वितरण गर्ने सीमापार पासको आधारमा बाह्रै महिना कोरलानाका खुल्ला गरेको हो । नाकाको तिब्बती भूमीमा पुगेर स्टल राखेर ब्यापार व्यवसाय गर्न समेत चीन पक्षले यो सुविधा दिएको हो ।

कोरलानाकामा ब्यापारिक हबका लागि चीनले  भन्सार,सुख्खा बन्दरगाह ,अध्यामगन र सुरक्षा पोष्टसंगै ब्यापारिक प्रतिष्ठान लगायतका भव्य भौतिक  पूर्वाधारहरु निर्माण गरिसकेको छ ।तर, नेपाल पक्षबाट कोरलाको दशगजा यता संरचना निर्माण गर्न १ हजार रोपनी भन्सारका नाममा लालपूर्जा बनिसकेको छ । सीमानाकामा जग्गा प्राप्ति प्रक्रिया अघि बढेको भएपनि नेपाल सरकारले त्यहाँ पूर्वाधार बनाउनेतर्फ खासै पहल गरेको पाईदैन ।

गण्डकी प्रदेश सरकारले चालु वर्ष कोरलानाकामा तत्कालका लागि अतिआवश्यकीय पूर्वाधार निर्माण गर्न ५० लाख बजेट विनियोजन गरेको थियो । नाकामा अस्थायी पूर्वाधार बनाउने अख्तियारी पूर्वाधार विकास कार्यालय मुस्ताङले गरेको छ ।



प्रतिक्रिया