कोरला सीमाक्षेत्रमा प्रहरीको संयुक्त पैदल गस्ती

जोमसोम—उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकासंग सीमाना जोडिएको कोरलापास क्षेत्रका दुबै देशका प्रहरी सुरक्षाकर्मीहरुले संयुक्त पैदल गस्ती गरेका छन् । सीमा क्षेत्रमा हुने संम्भावित अपराध,चोरी सिकारी र अवान्छित गतिविधि न्यूनिकरण तथा रोकथामका लागि कोरलाको सीमाक्षेत्रमा रहेका नेपाली र चीनियाँ सुरक्षाकर्मीले बुधबार संयुक्त सुरक्षा गस्ती गरेका हुन् ।



 जिल्ला प्रहरी कार्यालय मुस्ताङको मातहतमा उपल्लो मुस्ताङको लोमान्थाङमा ईलाका प्रहरी कार्यालय छ भने लोमान्थाङ—१ को नेचुङमा छोसेर प्रहरी चौकी छ । उता चीनतर्फ पनि कोरलानाकाको तिब्बती भूमी १० गजा क्षेत्रमा चीनियाँ प्रहरी सुरक्षाकर्मी बस्छन् । दुबै देशका सुरक्षाकर्मीहरुको आपसी समन्वयमा कोरलाक्षेत्रमा संयुक्त सुरक्षा गस्ती गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।

नेपाल र चीन पक्षका प्रहरी सुरक्षाकर्मीको संम्भवत योनै पहिलो संयुक्त सुरक्षा गस्ती हो । यसले दुबै देशका प्रहरी सुरक्षाकर्मी एक÷आपसमा समन्वय र सहकार्यसहित मिलेर सीमा क्षेत्रमा हुनसक्ने अवान्छित गतिविधि अपराध नियन्त्रण र चोरी शिकारी न्यूनिकरण गर्नमा दुबै देशका प्रहरी सचेत रहेको सन्देश दिईएको छ । नेपाल र चीनका संयुक्त प्रहरी सुरक्षा गस्ती टोलीले कोरलानाकाको २४ नं.र २३ नं. सीमास्तम्भको ३ किलोमिटर दुरीमा संयुक्त पैदल सुरक्षा गस्ती सम्पन्न गरेको प्रहरी नायव उपरीक्षक पाण्डेयले बताए ।


नेपाल—चीन संयुक्त सुरक्षा गस्तीमा नेपाल पक्षबाट ईलाका प्रहरी कार्यालय लोमान्थाङका प्रहरी नायव निरीक्षक सुशिल लामिछानेको नेतृत्वमा ८ जना प्रहरी टोली र चीनियाँ पक्षबाट कोरलानाका स्थित लिजी प्रहरी कार्यालयका प्रहरी सवईन्स्पेक्टर छेदर दोर्जेीको नेतृत्वमा ८ जना चीनियाँ प्रहरी गरी १६ जनाको प्रहरी टोली कोरला सीमाक्षेत्रमा संयुक्त सुरक्षा गस्ती गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

उत्तरी सीमाक्षेत्र कोरलामा दुबै देशका प्रहरी सुरक्षाकर्मीद्वारा संयुक्त गस्ती भएको र यसप्रकारको सुरक्षा गस्तीले सीमाक्षेत्रमा हुनसक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न निकै ठुलो सहज पुग्ने प्रहरी नायव उपरीक्षक पाण्डेयले उल्लेख गरे । उनले यो सीमाक्षेत्रमा पहिलो संयुक्त प्रहरी सुरक्षा गस्ती भएको र आगामी दिनमा पनि यसप्रकारको गस्तीले निरन्तरता दिईने जनाए ।

उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङसंग सीमाना जोडिएको कोरलानाका पछिल्लो समय पर्यटकीय हब बन्दै जान थालेको छ । २०७४ सालदेखि उत्तर÷दक्षिण जोड्निे राष्ट्रिय गौरवको बेनी—जोमसोम —कोरला सडक आयोजना अन्तर्गत नाकासम्मको सडक संञ्जाल स्तरोन्नति भईरहेको छ । गौरवको सडकका कारण सडक यातायात सहज हुँदै गर्दा पछिल्लो समय आन्तरिक पर्यटक कोरलानाका अवलोकन गर्र्न लर्कोनै लाग्ने गरेको छ ।


यसैगरी कोरोना कहरले लगातार ४ वर्षसम्म बन्द रहेको कोरलानाका गत कार्तिक २७ गतेदेखि बाह्रै महिना खुल्ला भएसंगै सीमाक्षेत्रमा मानिसहरुको आवतजावत समेत बढ्दै गईरहेको छ । उपल्लो मुस्ताङका नागरिकले चीनियाँ भूमीमा पुगेर मालसमान खरिद गर्न र आफुले उत्पादन गरेको सामाग्री चीनतर्फ निर्यात गर्न सहज भएकाले नेचुङ—लिजी कोरलानाकामा ब्यापारिक कारोबार बढ्दै गईरहेको छ ।

कोरलानाका खुल्ला भएको र सडक सहजसंगै सीमाक्षेत्रमा पर्यटक जान थालेपछि त्यहाँ सुरक्षा चुनौति आवश्यकता महसुश गरिएको छ । 

कोरलानाकाको दश गजा क्षेत्रमा नेपाल पक्षले अस्थायी टहरा निर्माण गर्ने तयारी गरेको छ । त्यहाँ पूर्वाधार विकास कार्यालय मुस्ताङले सुरक्षा निकाय बस्न मिल्ने ६ कोठे एसवाई प्यानलको भवन बनाउने तयारी गरिएको छ ।


प्रतिक्रिया