हिमाली कलासंस्कृति जोगाउन ‘यार्तुङ ’ महोत्सव

दुई शब्द

     मुस्ताङ जिल्ला धार्मिक,सांस्कृतिक,ऐतिहाँसिक  एवं हिमाली सभ्यता ,रितिरिवाज र परम्पराले महत्वपूर्ण छ । यहाँको मौलिकता जिवित रहेसम्म यहाँको पहिचान र हिमाली सभ्यता जिवन्त रहन्छ । यसैका कारण हामी स्थानीय तहका जिम्मेवार जनप्रतिनिधि भएकाले जनतासंग प्रत्यक्ष  सहकार्य गर्दै निरन्तर यहाँको धर्म,संस्कृति र ऐतिहाँसिकता जोगाउन लागिपरेका छौं ।

हिमाली जिल्ला मुस्ताङको तल्लो क्षेत्रका थकाली समुदायहरुले तोरन्ल्ह,तेरमी,त्यूङल्हा पर्वका साथै खिल्हा र आङ्ख्ला पर्व मनाउने प्रचलन छ ।उपल्लो मुस्ताङमा तिजी  र यार्तुङ पर्व मनाउने गरिन्छ । हाम्रो पालिका बाह्र गाउँ क्षेत्रमा यार्तुङ र धज्याङ पर्व मनाउने प्रचलन छ । गुरुङ,बिष्ट र थकाली समुदायहरुले मनाउने आफ्नै आफ्नै प्रकारको पर्व भएपनि यहाँ बसोबास गर्ने सबै जनजातीहरुको धर्म र संस्कृतिको मुख्य गन्तब्यनै धार्मिक तथा सांस्कृतिक गन्तब्यनै हो । हामीले आफ्नै प्रकारले पर्व मनाउने गरिने भएपनि सबै जनजातीहरुको धर्म , संस्कृति र चालचलनप्रति उक्तिकै सम्मान गर्ने गछौं ।

बाह्र गाउँ क्षेत्रको महत्वपूर्ण पर्व यार्तुङ धार्मिक पर्व हो । बर्सेनि बर्खायामको खेतीपातीको कामकाज सकेर फुर्सदिलो महिनामा सबै आफन्त,ईष्टमित्र र समाजका अगुवा मिलेर धार्मिक संस्कृति अनुसार यार्तुङ मनाउने गछौं । हाम्रो गाउँपालिकाले यार्तुङ पर्वलाई पर्वमा मात्रै सीमित नराखेर यसप्रकारको मौलिकतालाई संरक्षण संम्र्वद्धन र पुस्तान्तरण गर्ने र पर्वकै माध्यमबाट पर्यटन प्रर्वद्धनसंग जोड्ने प्रयास भईरहेको छ ।

वारागुङ मुक्तिक्षेत्रले यार्तुङ पर्वलाई महोत्सवको रुपमा चलाउन बर्सेनि १० लाख बजेट विनियोजन गर्ने गरेको छ । यो क्रम पाँचौं वर्ष पुरा भई छैठौं सस्करणको यार्र्तुङ महोत्सव संञ्चालन गर्ने तयारीमा जुटेका छौं । यसवर्ष कागबेनीको पालो भएकाले साउन १८ देखि २० गतेसम्म कार्यक्रम गर्नेछौं । यार्तुङ महोत्सवको दौरानमा हामीले स्थानीय स्याब्रो नाच,सास्कृतिक झाँकी, स्थानीय मौलिक भेषभुषा  पहिरिएर फेसन शो को कार्यक्रम राखेका छौं । यसले यहाँका संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान दिनेमा विश्वस्त छौं । हिमाली जिल्ला मुस्ताङ आउने पर्यटकलाई यहाँको मौलिकता र कलासंस्कृतिले निश्चितनै सकारात्मक प्रभाव पार्नेछ ।

कागबेनी यार्तुङमा आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कर्षित गर्ने उद्देश्यले हामीले परम्परागत घोडा दौड,तारा खेल र डोरी तान्ने खेल राखेका छौं । मनोरञ्जनका लागि राष्ट्रिय कलाकारहरुलाई आमन्त्रण गरेको लाईभ कन्सर्ट र डिजे डान्स पार्टीको आयोजना गर्ने तयारीमा अघि बढेका छौं ।

विगतमा हामीले जुन ढंगले सास्कृतिक पर्व यार्तुङलाई मनाउदै आईरहेका थियौं पछिल्लो समय यसलाई पर्यटनसंग जोड्ने प्रयास गरेका छौ । त्यसो मुस्ताङ भन्ने बिक्तिकै स्वदेशी तथा विदेशी पर्यटकका लागि  पर्यटकीय ब्रान्डनै हो । यद्यपी यसको साख र गरिवलाई कालान्तरसम्म जोगाउन अपरिहार्य छ । कलासंस्कृतिक र मौलिकता जोगाउने दायित्व स्थानीय तहको भएकाले हामीले हाम्रो तर्फ स्थानीय स्तरमा निरन्तर साथ सहयोग गर्दैआईरहेका छौं । यार्तुङ हिमाली क्षेत्रको मौलिक आयाम भएकाले यसको अवलोकन गरिदिन र यसले महत्वलाई अझ वृद्धि गर्नका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक हुने छ ।

वडाध्यक्ष : कर्मा घ्याचो गुरुङ 

(वारागुङ मुक्तिक्षेत्र—४ कागबेनी ,मुस्ताङ)


प्रतिक्रिया